नेकपाले झापाका पाँचै क्षेत्रका लागि उम्मेदवार सिफारिस, क्षेत्र नं. ४ मा मनिषसहित पाँच जनाको नाम
काठमाडौँ - नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले झापाका पाँचवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ। झापा निर्वाचन क्षेत्र नं। ४ को प्रत्यक्षतर्फ झलक सिंह दर्लामी (सन्देश), पुरुषोत्तम चुडाल, टिकेन्द्र प्रसाद चम्लागाँई (मनिष), अम्बिका उप्रेति र प्रतिक राजवंशीलाई उम्मेदवारका रूपमा सिफारिस गरिएको हो ।
पार्टीको झापा जिल्ला कमिटीले जेन–जी प्रतिनिधित्वतर्फ टिकेन्द्र प्रसाद चम्लागाँई (मनिष) लाई अघि सारेको छ। हाल उनी त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयमा स्नातकोत्तर अध्ययनरत छन् । चम्लागाँई त्रिभुवन विश्वविद्यालयका सक्रिय विद्यार्थी नेता हुन् र लामो समयदेखि विद्यार्थी राजनीतिमा संलग्न रहँदै आएका छन् ।
सामाजिक, शैक्षिक तथा राजनीतिक विषयमा निरन्तर आवाज उठाउँदै आएका चम्लागाँईले आगामी निर्वाचनमा त्रिभुवन विश्वविद्यालयको प्रतिनिधित्व सुनिश्चित गर्न पार्टीले कम्तीमा २० प्रतिशत उम्मेदवारी विश्वविद्यालयका विद्यार्थीबाट दिनुपर्ने धारणा राख्दै आएका छन् । मुलुकको सबैभन्दा पुरानो, ठूलो र दक्ष जनशक्ति उत्पादन गर्ने त्रिभुवन विश्वविद्यालयको वास्तविक प्रतिनिधित्व आवश्यक रहेको भन्दै यस विषयमा पार्टी गम्भीर रूपमा लाग्नुपर्ने उनको भनाइ छ।
पार्टीले विश्वास गरेर उम्मेदवार बन्ने अवसर दिएमा आफू पूर्ण रूपमा तयार रहेको चम्लागाँईले बताएका छन्। राजनीतिसँगै उनी झापामा सामाजिक कार्यमा समेत सक्रिय छन्। गत असोजमा झापामा अविरल वर्षाका कारण आएको भीषण बाढीका बेला उनले ‘विपद् व्यवस्थापन स्थायी समूह’ नामक युवाहरूको समूह गठन गरी उद्धार तथा राहत कार्यमा सक्रिय भूमिका निर्वाह गरेका थिए । सामाजिक सक्रियता र युवामाझको लोकप्रियताका कारण चम्लागाँईलाई सम्भावित उम्मेदवारका रूपमा आँकलन गरिएको छ।
प्रतिक्रिया