विद्यालयमा आधारित बाल संरक्षण मापदण्ड निर्माण सम्बन्धी नारायणमा कार्यशाला सम्पन्न
दैलेख : नारायण नगरपालिकाको आयोजना तथा युनिसेफ प्रदेश कार्यालयको सहयोगमा विद्यालयमा आधारित बाल संरक्षण मापदण्ड निर्माण सम्बन्धी एक दिने कार्यशाला सम्पन्न भएको छ।
बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ५७ अनुसार प्रत्येक विद्यालयमा बाल संरक्षण मापदण्ड निर्माण गरी लागू गर्नुपर्ने कानुनी व्यवस्थाको कार्यान्वयनका सन्दर्भमा उक्त कार्यशालाको आयोजना गरिएको हो । नगरस्तरीय बाल अधिकार समितिका संयोजक तथा नगर उप–प्रमुखको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रतिनिधि तथा नगरपालिकाको सामाजिक विकास शाखा, शिक्षा शाखा र महिला तथा बालबालिका शाखाका कर्मचारीहरूको सहभागिता रहेको थियो।
कार्यशालामा विशेषगरी राष्ट्रिय बाल अधिकार परिषदबाट स्वीकृत नमुना बाल संरक्षण मापदण्डमाथि छलफल गरी नारायण नगरपालिकाभित्रका विद्यालयहरूको आवश्यकता अनुसार परिमार्जन तथा अद्यावधिक गरिएको थियो। कार्यशालामा सहभागी नौ वटै विद्यालयले आगामी एक हप्ताभित्र आ–आफ्नो विद्यालयमा बाल संरक्षण मापदण्ड स्वीकृत गरी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यसबाट विद्यालयमा बालबालिका विरुद्ध हुने हिंसा, शोषण तथा दुर्व्यवहारको रोकथाम र न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रमको सहजीकरण नगरपालिकाको सामाजिक विकास शाखा, महिला तथा बालबालिका शाखा, शिक्षा शाखा तथा युनिसेफ प्रदेश कार्यालय सुर्खेतका केशब चालिसेले गरेका थिए । कार्यक्रम समापन गर्दै प्रमुख प्रशासकीय अधिकृत बम बहादुर केसी र नगर उप–प्रमुख तप्ता थापा बाल संरक्षण मापदण्डलाई कागजमै सीमित नराखी प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै सरोकारवालालाई आग्रह गरे ।
प्रतिक्रिया