एकता नहुँदा बजेटदेखि अवसरसम्म कर्णाली पछि पर्यो : मन्त्री चौलागाईँ
काठमाडौँ - कर्णालीभित्र एकता नहुँदा बजेट विनियोजनदेखि राजनीतिक तथा प्रशासनिक अवसरसम्म कर्णालीका युवाहरू पछाडि पर्नुपरेको वन तथा वातावरण मन्त्री माधव चौलागाईंले बताएका छन् ।
शनिबार दैलेखी सेवा समाजको ३०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री चौलागाईंले कर्णाली प्रदेश जुरुक्क उठे मात्र देश समग्र रूपमा उठ्न सक्ने स्पष्ट पारे। कर्णालीका युवामा देशका लागि योगदान गर्न सक्ने पर्याप्त क्षमता रहेको उल्लेख गर्दै उनले कर्णालीलाई सशक्त बनाउनु नै देश विकासको इमान्दार सपना भएको बताए।
“कर्णाली उठ्न सकेन भने देश उठ्न सक्दैन । त्यसैले देश जुरुक्क उठाउन कर्णाली जुरुक्क उठ्नुपर्छ,” उनले भने, “कर्णाली उठ्नुपर्छ भन्ने हाम्रो एकमात्र इमान्दार सपना हो।”
उनले वर्तमान सरकार ‘टिम कर्णाली’का रूपमा अघि बढिरहेको उल्लेख गर्दै देशलाई पछाडि धकेल्ने प्रवृत्तिविरुद्ध लड्न आवश्यक रहेको बताए। “हामी मान्ठ प्रवृत्तिलाई उजागर गर्न चाहन्छौँ। हामी मान्ठहरू जुर्मुराउने युगको प्रतीक्षामा छौँ। यो युग भनेकै कर्णालीको युग हो,” मन्त्री चौलागाईंले भने।
दैलेखलाई देशको केन्द्रीय भूमि भएको उल्लेख गर्दै उनले यहाँका प्रतिभाले देश–विदेशमा सशक्त सन्देश दिन सक्ने क्षमता रहेको बताए। कर्णालीले देशको करिब २० प्रतिशत भूभाग ओगटे पनि विगतका सरकारले पूर्वाधार विकासमा एक प्रतिशतभन्दा कम, करिब ०।९९ प्रतिशत मात्र बजेट विनियोजन गरेको उल्लेख गर्दै उनले यसलाई गम्भीर विभेदको संज्ञा दिए।
“अब आउने सरकारहरूले बजेट १ प्रतिशतबाट क्रमशः ५ हुँदै १० प्रतिशतसम्म पुर्याउन सके कर्णालीलाई स्रोतसाधनका हिसाबले कहिल्यै दुर्गम भन्नु पर्ने अवस्था रहँदैन,” उनले भने, “दुर्गम भन्ने भाष्य बनाइएको हो। भूगोलले होइन, नीति र दृष्टिकोणले कर्णालीलाई पछि पारेको हो। संसारका धेरै देशले प्रविधिमार्फत भौगोलिक विकटता पार गरिसकेका छन्।”
वृहत खसान राज्यका मौलिक पहिचान सामाजिक–सांस्कृतिक दृष्टिले अत्यन्त विशाल रहेको उल्लेख गर्दै मन्त्री चौलागाईंले आफू जुम्लाबाट ४२ वर्षपछि मन्त्री बन्न पाएको तथ्यले केन्द्रले कर्णालीलाई कति उपेक्षा गरेको थियो भन्ने स्पष्ट भएको बताए। उनले कर्णालीभित्रको गुटगत प्रवृत्ति र एकताको अभावकै कारण राजनीतिक तथा प्रशासनिक तहमा प्रभावकारी उपस्थिति हुन नसकेको स्वीकार गरे।
“हामीबीच एकता नहुँदा बजेटदेखि अवसरसम्म कर्णालीका युवाहरू पछि परे,” उनले भने, “अब यस्तो अवस्था दोहोरिन नदिन हामी सचेत छौँ। कर्णालीका युवाहरू आफैँ कर्णालीप्रतिको नकारात्मक भाष्य बदल्न अघि बढिरहेका छन्।”
मन्त्री चौलागाईंले जेन्जी आन्दोलन कुनै दल वा पार्टीविरुद्ध नभई गलत प्रवृत्तिविरुद्ध भएको स्पष्ट पार्दै उक्त प्रवृत्तिले देशका धेरै युवालाई निराश बनाएको र कर्णालीलाई अझै किनारामा पारिएको बताए।
उनले अब आउने पुस्ता जुनसुकै दल वा संगठनसँग सम्बन्धित भए पनि पुरानै ढर्रामा नचल्ने विश्वास व्यक्त गर्दै कर्णालीले न्याय पाउनेमा आफू ढुक्क रहेको बताए।
प्रतिक्रिया