लालिगुराँस सामुदायिक वनमा लागेको आगोमा परेर दैलेखका एक बालक घाइते
फाइल तस्बिर
दैलेख - दैलेखको आठबिस नगरपालिका–८ स्थित लालिगुराँस सामुदायिक वनमा लागेको आगोमा परेर एक बालक गम्भीर घाइते भएका छन् ।
आगो लागेका बेला सोही वडाको बिशाला बस्ती निवासी कुलबहादुर शाहीका १० वर्षका छोरा रोशन शाही साथीहरूसँग जंगलमा गोठालो गएको अवस्थामा खेल्ने क्रममा आगोमा परेका थिए । आगलागीबाट उनको शरीरको बाँया भाग शिरदेखि पाउसम्म जलेको जिल्ला प्रहरी कार्यालयय दैलेखले जनाएको छ ।
घाइते रोशनलाई प्रारम्भिक उपचारका लागि तिलेपाटा स्वास्थ्य चौकीमा लगिएको थियो । त्यहाँ सामान्य उपचारपछि अवस्था गम्भीर भएपछि थप उपचारका लागि सुर्खेत पठाइएको थियो । पछि उनलाई नेपालगञ्ज हुँदै काठमाडौंको कीर्तिपुरस्थित जलन अस्पतालमा रिफर गरिएको छ, जहाँ हाल उपचार भइरहेको छ।
घटनाको जानकारी पाएलगत्तै सम्बन्धित प्रहरी चौकी तिलेपाटाबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो । आगलागीको कारण हालसम्म खुलेको छैन । स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
उक्त घटनास्थल प्रहरी चौकीबाट करिब ५ किलोमिटर दक्षिणतर्फ पर्दछ । घाइते रोशन शाहीलाई थप उपचारका लागि सुर्खेत र नेपालगञ्ज हुँदै हाल सडक मार्गबाट काठमाडौंको कीर्तिपुरस्थित जलन अस्पतालमा लैजाँदै गरिएको छ।
प्रतिक्रिया