विपद् पूर्वतयारीमा जोड : नारायण नगरपालिकामा अन्तरक्रियात्मक तालिम सम्पन्न

विपद् पूर्वतयारीमा जोड : नारायण नगरपालिकामा अन्तरक्रियात्मक तालिम सम्पन्न

दैलेख : युवा, विद्यालय तथा जनप्रतिनिधिको भूमिकामा आधारित जोखिम–सूचित योजना र विपद् व्यवस्थापन क्षमता अभिवृद्धि सम्बन्धी अन्तरक्रियात्मक तालिम आइतबार नारायण नगरपालिकामा सम्पन्न भएको छ। युनिसेफको आर्थिक सहयोग, सोसेक नेपालको सहजीकरण तथा नारायण नगरपालिकाको समन्वयमा उक्त कार्यक्रम आयोजना गरिएको हो।

तालिममा जलवायु परिवर्तनका कारण उत्पन्न हुने जोखिम तथा विपद् व्यवस्थापनमा प्रभावकारी रूपमा कसरी काम गर्न सकिन्छ भन्ने विषयमा सहभागीहरूलाई जानकारी गराइएको थियो। विशेषगरी बाढी, पहिरो, चट्याङ, खडेरी र डडेलोजस्ता सम्भावित विपद्का समयमा अपनाउनुपर्ने पूर्वतयारी, सचेतना तथा सुरक्षित अभ्यासबारे विस्तृत छलफल गरिएको थियो।

कर्णाली प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत डिभिजनल वन अधिकृत रमेश कुमार गिरीले जलवायुजन्य विपद्ले मानव शरीरमा पार्ने असर तथा त्यसको व्यवस्थापनका उपायबारे प्रस्तुतीकरणमार्फत जानकारी गराएका थिए । साथै, विद्यालय शिक्षकहरूले विद्यालयस्तरमा र युवाहरूले समुदायस्तरमा विपद् व्यवस्थापनसम्बन्धी गतिविधिहरू कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा समेत स्पष्ट पारिएको थियो।

कार्यक्रममा बालबालिका तथा युवाको भूमिका, युवाको नेतृत्व र दिगोपन, जलवायु–मैत्री विकास, सामूहिक सहकार्य, सामाजिक सञ्जालमार्फत सचेतना, अनुसन्धान तथा नवीनतम प्रविधिको प्रयोग, सहकार्य र सहअस्तित्वलगायत विषयमा अन्तरक्रिया गरिएको थियो। तालिमका क्रममा शिक्षक र जनप्रतिनिधिहरूलाई दुई समूहमा विभाजन गरी आ–आफ्नो क्षेत्रबाट विपद् व्यवस्थापनमा गर्न सकिने कार्यबारे छलफल गराइएको थियो। छलफलपछि दुवै समूहले आफ्ना सुझाव तथा सम्भावित कार्यहरू बुँदागत रूपमा प्रस्तुत गरेका थिए।

 

नारायण नगरपालिकाका नगरप्रमुख लोमन शर्माले नगरपालिकाले विगतदेखि नै विपद् व्यवस्थापनका क्षेत्रमा कार्य गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि कार्ययोजनाअनुसार पूर्वतयारीका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त  गरे  । कार्यक्रमका सभाध्यक्ष तथा सोसेक नेपालका महासचिव ललिता भण्डारीले विपद्का समयमा अपनाउनुपर्ने सावधानी र पूर्वतयारीको महत्त्व औँल्याउँदै विकास निर्माणका क्रममा जोखिम न्यूनीकरणमा विशेष ध्यान दिनुपर्ने बताइन  । उनले आगामी दिनमा पनि संस्थाबाट सहयोग र सहकार्य निरन्तर रहने उल्लेख गरीइन्  ।

तालिममा सहभागीहरूले कार्यक्रम अत्यन्त उपयोगी रहेको प्रतिक्रिया दिँदै यस किसिमको तालिम दुई–तीन दिनसम्म सञ्चालन गर्न सके अझ प्रभावकारी हुने धारणा व्यक्त गरेका थिए। आयोजक टोलीका अनुसार आगामी दिनमा तालिमको अवधि विस्तार गर्ने योजना रहेको छ।

प्रतिक्रिया