कालिकोट : सशक्त महिला, समृद्ध नेपाल कार्यक्रमअन्तर्गत सहजकर्ताहरू सम्मानित

कालिकोट : सशक्त महिला, समृद्ध नेपाल कार्यक्रमअन्तर्गत सहजकर्ताहरू सम्मानित

कालीकाेट : युरोपियन  युनियन र युएनएफपीएको आर्थिक सहयोग तथा शुभकालिका गाउँपालिकाको सहयोग र समन्वयमा सोसेक नेपालद्वारा सञ्चालित “सशक्त महिला, समृद्ध नेपाल” कार्यक्रमअन्तर्गत कार्यरत सबै सहजकर्ताहरूलाई एक कार्यक्रमको बिच  सम्मान गरिएको छ।

शुभकालिका गाउँपालिकाले कार्यक्रमको अपनत्व ग्रहण गर्दै विद्यालयहरूमा सञ्चालन भएको रूपान्तरण कक्षाका आठ जना साथी सहजकर्ता, परिवार संवादका तीन जना समुदाय सहजकर्ता, र अन्तपुस्ता संवादमा सहजीकरण गर्नु भएका दुई जना च्याम्पियनको योगदानको उच्च मूल्याङ्कन गर्दै दोसल्ला र प्रशंसा–पत्र प्रदान गरी सम्मान गरिएको हो  ।

शुभकालिका गाउँपालिकामा “सशक्त महिला, समृद्ध नेपाल” कार्यक्रम अन्तर्गत विशेष गरी लैङ्गिक हिंसा रोकथाम र सामाजिक हानिकारक मूल्य–मान्यताहरू परिवर्तन गर्ने उद्देश्यका साथ समुदायमा आधारित कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्। यसमा महिलाहरूको आर्थिक सशक्तिकरण तथा लैङ्गिक समानता कायम गर्न विविध गतिविधिहरू समावेश छन्। कार्यक्रमले गर्दा पालिकामा विद्यमान हानिकारक सामाजिक मूल्य–मान्यताहरू बिस्तारै परिवर्तन हुँदै गएको अध्यक्ष गोविन्द प्रसाद आचार्यले बताए।

उक्त सम्मान कार्यक्रममा उपाध्यक्ष धर्मकला शाहीको अध्यक्षता, गाउँपालिका अध्यक्ष गोविन्द प्रसाद आचार्यको प्रमुख आतिथ्य, निमित्त प्रमुख प्रशासकीय अधिकृत ऐन बहादुर शाही, वडा अध्यक्षहरू, शिक्षा शाखा प्रमुख नवराज आचार्य, नागरिक समाज र पत्रकारहरूको उपस्थिति रहेको थियो।

गाउँपालिका अध्यक्ष गोविन्द प्रसाद आचार्यले भने, “थोरै लगानीमा तपाईँहरूले समुदाय र विद्यालयका किशोर–किशोरीमा ल्याउनुभएको चेतना र व्यवहार परिवर्तन, जस्तै बालविवाह न्यूनिकरण, लैङ्गिक हिंसा न्यूनिकरण, र लागुपदार्थ दुर्व्यसन रोकथाममा रहेको योगदान अतुलनीय छ। किशोर–किशोरी लक्षित रूपान्तरण कक्षाले समाजमा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउने विश्वास छ। उनीहरू आजका मात्र होइन, भोलिका कर्णधार हुन्। उनीहरूमा सही ज्ञान, आत्मविश्वास र नेतृत्व विकास गर्न सके समाज आफैं रूपान्तरण हुन्छ।”

उपाध्यक्ष धर्मकला शाहीले पनि किशोर–किशोरीहरूको व्यक्तित्व विकास, लैङ्गिक समानता र अधिकारको विषयमा रूपान्तरण कक्षा अत्यन्त प्रभावकारी रहेको बताइन् । उनले भनीन् , “सोसेक नेपालले समाज विकासको आधार केवल भौतिक विकास मात्र नभई नागरिकमा चेतनाको विकासमा पनि योगदान पुर्‍याएको छ। यसको लागि सोसेक नेपाल प्रति धन्यवाद व्यक्त गर्दछौं। युएनएफपी र सोसेक नेपालबाट हाम्रो पालिकाले समग्र विकासमा निरन्तर सहयोगको अपेक्षा राखेको छ।”

प्रतिक्रिया