भगवतीमाई ५ मा एनएलआरपी परियोजना सल्लाहकार समिति गठन
दैलेख: अस्ट्रेलियन एड कारितास नेपालको आर्थिक सहयोगमा सोसेक नेपालमार्फत सञ्चालित नेपाल जीविकोपार्जन तथा उत्थानशीलता परियोजना (एनएलआरपी) अन्तर्गत भगवतीमाई गाउँपालिका वडा नम्बर ५ मा सात सदस्यीय परियोजना सल्लाहकार समिति गठन गरिएको छ।
गठित समितिको संयोजकमा वडा अध्यक्ष कृष्णबहादुर शाही रहनुभएको छ भने सदस्यहरूमा मानबहादुर थापा, चन्द्रा बिक, कृष्णबहादुर बिक, भीमकुमार बिक तथा लोकराज जोशी रहनुभएको छ। त्यसैगरी समितिको सदस्य सचिवको जिम्मेवारी नेपाल जीविकोपार्जन तथा उत्थानशीलता परियोजनाका कार्यक्रम सहायक रवि लामिछानेले निर्वाह गर्नुहुनेछ।
नेपाल जीविकोपार्जन तथा उत्थानशीलता परियोजनाले बालबालिकासँग सम्बन्धित कार्यक्रम, बाल संरक्षण तथा बाल सहभागिता प्रवर्द्धन, बाल क्लब गठन तथा सशक्तीकरणका गतिविधिहरू सञ्चालन गर्दै आएको छ। साथै कृषिसँग सम्बन्धित कार्यक्रममार्फत कृषकहरूको जीविकोपार्जन सुधार, स्थानीय व्यवसायी तथा उद्यमीहरूलाई लक्षित गरी व्यवसायिक क्षमता विकास, सीप अभिवृद्धि तथा सहयोग कार्यक्रमहरू पनि सञ्चालन गरिँदै आएको छ।
गठित परियोजना सल्लाहकार समितिको प्रमुख काम, कर्तव्य तथा अधिकारमा परियोजनाका वार्षिक तथा आवधिक योजना र कार्यक्रमहरूमा सल्लाह तथा सुझाव प्रदान गर्ने, परियोजनाको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तह, सरोकारवाला निकाय तथा समुदायबीच समन्वय गर्ने, परियोजनाअन्तर्गत सञ्चालन भएका गतिविधिहरूको अनुगमन तथा मूल्याङ्कनमा सहयोग गर्ने, लक्षित समुदायका आवश्यकता, समस्या तथा सुझावहरू परियोजनासमक्ष प्रस्तुत गर्ने लगायतका जिम्मेवारी रहेका छन्। साथै बाल अधिकार संरक्षण, कृषि विकास तथा जीविकोपार्जन सुधारका गतिविधिहरूलाई दिगो र प्रभावकारी बनाउन आवश्यक मार्गनिर्देशन गर्ने अधिकार पनि समितिलाई रहेको छ।
परियोजनाको उद्देश्यअनुसार पारदर्शिता, जवाफदेहिता तथा सहभागितामूलक कार्यप्रणालीलाई प्रवर्द्धन गर्दै समुदायको जीविकोपार्जन तथा उत्थानशीलता अभिवृद्धिमा समितिले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ
प्रतिक्रिया