सात वर्षको मेहनत, ओभर भोल्टेजको आगोले एकरातमै खरानी बनायो
काठमाडौैँ - सात वर्षअघि गाउँमै केही गरौँ भन्ने सपना बोकेर नमराज शाहीले कुखुरा पालन सुरु गरे । चार रोपनी जग्गामा विस्तारै फर्म ठड्याए, ऋण र श्रमको जोहो गरे, बिहान–साँझ खोरमै बित्ने जीवनलाई आत्मसात् गरे । तर, बुधवार राति एक्कासि फैलिएको आगोले उनको सात वर्षको पसिना एकै रातमा खरानी बनाइदियो ।
ठाटीकाँध गाउँपालिका–२ सेरीपाटामा रहेको नमराज शाहीले संचालन गरेको कुखुरा फर्ममा विद्युत सर्ट सर्किटका कारण आगलागी भयो । ओभर भोल्टेजका कारण पावर सर्किट भएपछि कुखुरा राखिएको खोर, चारो, हिटरलगायत सम्पूर्ण संरचना जलेर नष्ट भयो । आगलागीबाट करिब डेढ लाख रुपैयाँ बराबरको क्षति भएको शाहीले बताए ।
“खोर नै जल्यो, केही पनि बाँकी रहेन,” नमराज शाही भन्छन्, “करिब डेढ सय कुखुरा थिए, ५० वटा घाइते छन्, बाँकी सबै गयो ।” फर्ममा बोइलर जातका कुखुरा पालिएका थिए । करिब ४५ दिनअघि हालिएका कुखुरा साढे तीन केजी तौल पुगेर बजारमा बेच्ने तयारीमा थिए ।
नमराज शाहीले करिब सात वर्षअघि ‘ठाटीकाँध बहुउद्देश्यीय कृषि फर्म प्रा.लि.’ स्थापना गरी व्यवसायिक कृषि कर्म सुरु गरेका थिए । कुखुरा पालन मात्र होइन, उनले टर्की पालनको समेत प्रयास गरेका थिए । तर बजार व्यवस्थापन नहुँदा टर्की बिक्री हुन नसकेको र त्यसबाट पनि घाटा व्यहोर्नुपरेको उनी बताउँछन् । “लोकल, बोइलर, टर्की-सबैमा घाटा भयो, अब उठ्ने आधार नै जलेर गयो,” निराश हुँदै उनी भन्छन् ।
यो घटना नमराज शाहीको मात्र पीडा होइन, ठाटीकाँध क्षेत्रको दीर्घकालीन विद्युत समस्याको परिणाम पनि हो । स्थानीयका अनुसार यहाँ विद्युत जडान भएदेखि नै बत्ती आउने–जाने, ओभर भोल्टेज र विद्युत लिकका समस्या दोहोरिँदै आएका छन्। केही समयअघि ठाटीकाँध–२ कै भिमपाइला क्षेत्रमा विद्युत लिकका कारण एकजनाकोे ज्यान समेत गएको थियो ।
ठाटीकाँध–२ मा रहेको श्री दशरथ माध्यमिक विद्यालयमा कार्यरत शिक्षक दिनेश कुमार थापाका अनुसार अत्यधिक भोल्टेजका कारण विद्यालयका डेस्कटप कम्प्युटर, साउन्ड सिस्टम, प्रिन्टर र वाइफाइ उपकरणहरू समेत नष्ट भएका छन् । बजार क्षेत्रका व्यवसायीहरू पनि बत्ती फुट्ने र उपकरण जल्ने समस्याबाट हैरान छन् ।
यता, नेपाल विद्युत प्राधिकरण दैलेख वितरण केन्द्रका प्रमुख टंकराज गिरीले कुखुरा फर्ममा भएको आगलागी र ठाटीकाँधको समस्याबारे आफूलाई औपचारिक जानकारी नआएको बताएका छन् । तर स्थानीयहरू भने बारम्बार क्षति हुँदा पनि प्राधिकरण र स्थानीय सरकार गम्भीर नबनेको गुनासो गर्छन् ।
ग्रामीण उद्यम, आत्मनिर्भर कृषि र स्वरोजगारको नारा वास्तविकतामा कति असुरक्षित छ भन्ने उदाहरण बनेको छ नमराज शाहीको फर्म । बीमा छैन, क्षतिपूर्तिको स्पष्ट व्यवस्था छैन, र जोखिम न्यूनीकरणका लागि आवश्यक विद्युतीय सुरक्षा पनि छैन । एक रातको आगोले सात वर्षको संघर्ष मात्र होइन, भविष्यप्रतिको भरोसा पनि सँगै जलेको छ । “खोर नै जल्यो, केही पनि बाँकी रहेन,” नमराज शाही भन्छन्, “डेढ सय कुखुरा थिए, ५० वटा जिउँदै छन्, त्यो पनि घाइते । बाँकी सबै गयो ।”
अब नमराज शाही फेरि उठ्न सक्छन् कि सक्दैनन्, त्यो उनको मेहनतभन्दा बढी राज्य र सम्बन्धित निकायको संवेदनशीलतामा निर्भर देखिन्छ ।
यता ठाटीकाँध गाउँपालिकाका किसानलाई कृषि बीमा गराउन कृषि शाखा प्रमुख अभिषेक बिष्टले आग्रह गरे । उनका अनुसार बीमा गराउँदा करिब ९० प्रतिशतसम्म क्षतिपूर्ति (कभरेज) सुनिश्चित हुने बताए ।
“कसैले बीमा गर्छन्, कसैले गर्दैनन् । अझै धेरैले यसको महत्व बुझ्नुभएको छैन,” उनले भन े। बीमा नगरेका किसानका लागि, पालिकाको विपद् शाखाले क्षती विवरण संकलन गरी आवश्यक सहयोग उपलब्ध गराउने व्यवस्था रहेको उनले जानकारी दिए ।
ठाटीकाँध गाउँपालिका सानो आकारको र आय स्रोत सीमित भएकाले कर्मचारी र बजेट दुवै कम रहेको उनले बताए । विशेष गरी ठाटीकाँध–२, ३ र ४ नम्बर वडामा असिना र वर्षायामको पानीले वर्षेनी बालीनालीमा क्षति हुने भएकाले किसानको संरक्षणका लागि बीमा अपरिहार्य रहेको उनले जानकारी दिए ।
पलिकामा कर्मचारीको अभाव रहेका पालिको र अब नयाँ कर्मचारी आएपछि बीमा सम्बन्धी कार्यक्रम पूर्ण रूपमा लागू गर्ने योजना रहेको बिष्टले जानकारी दिए ।
प्रतिक्रिया