ठाटीकाँधमा पालिका स्तरीय बाल भेला तथा बाल क्लब पुनः गठन
ठाटीकाँध - ठाटीकाँध गाउँपालिकामा पालिका स्तरीय बाल भेला सम्पन्न भई बाल क्लब पुनः गठन गरिएको छ। एईआइएन लक्जेम्बर्गको साझेदारीमा सोसेक नेपालद्वारा ठाटीकाँध गाउँपालिकामा सञ्चालित सहकार्य परियोजनाको सहयोग तथा गाउँपालिकाको आयोजनामा उक्त कार्यक्रम गरिएको हो ।
कार्यक्रममा २१ जना बालबालिकाको सक्रिय सहभागिता रहेको थियो । गाउँपालिका उपाध्यक्ष देबिराम बडुवालको अध्यक्षतामा सम्पन्न भेलामा वडा नं. २ का वडा अध्यक्षको आतिथ्यता रहेको थियो ।
भेलाबाट १९ सदस्यीय पालिका स्तरीय बाल क्लब गठन गरिएको छ । नवगठित बाल क्लबको अध्यक्षमा सरोज शाही चयन भएका छन् भने उपाध्यक्षमा प्रमिला शाही, सचिवमा प्रशान्त शाही, कोषाध्यक्षमा धनसरा शाही र सहसचिवमा स्वस्तिका थापा चयन भएका छन्। साथै जनक रोकाया, निराजन कुमार विक र सुजता बिष्ट सल्लाहकार रहेका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष देबिराम बडुवालले बालबालिकालाई स्थानीय तहको विकास प्रक्रियामा सहभागी गराउनु आवश्यक रहेको बताउँदै बाल क्लबमार्फत बालबालिकाको नेतृत्व क्षमता, आत्मविश्वास र हक–अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले गाउँपालिकाले बालमैत्री नीति तथा कार्यक्रमलाई प्राथमिकतामा राखेर बाल क्लबसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता समेत जनाए ।
कार्यक्रममा सहभागी बालबालिकाले आफ्ना धारणा राख्दै शिक्षा, स्वास्थ्य, बाल संरक्षण तथा सहभागितामूलक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रतिक्रिया