खाडाचक्र वडा ३ र ४ मा घरदैलो कार्यक्रम सम्पन्न
कालिकोट - कालिकोटको खाडाचक्र नगरपालिका वडा नं. ३ र ४ मा घरदैलो कार्यक्रम गरिएको छ । एईआइएन लक्जेम्बर्गको साझेदारी खाडाचक्र नगरपालिकाको समन्वय सोसेक नेपालद्वारा संचालित आधार परियोजनाको सहजीकरणमा तरकारी खेती प्रवर्द्धन, महिला मनोसामाजिक परामर्श, सेफहाउस तथा बालहेल्पलाइन १०९८ सम्बन्धी जानकारी प्रदान गरिएको छ।
कार्यक्रमका क्रममा स्थानीय समुदायलाई मौसमी तथा बेमौसमी तरकारी खेतीका फाइदा, घरमै उत्पादन गरी आत्मनिर्भर बन्न सकिने सम्भावना र पोषणयुक्त खानपानका विषयमा जानकारी दिइएको थियो । साथै महिलाहरूलाई लक्षित गरी मनोसामाजिक परामर्श प्रदान गर्दै घरेलु हिंसा, लैङ्गिक हिंसा तथा संकटको अवस्थामा सुरक्षित बसाइँ (सेफहाउस) को प्रयोग कसरी गर्न सकिन्छ भन्नेबारे सचेतना गराइएको थियो।
घरदैलो कार्यक्रममार्फत बालअधिकार संरक्षणका लागि सञ्चालनमा रहेको बालहेल्पलाइन १०९८ को उद्देश्य, सेवा लिने प्रक्रिया र बालबालिकामाथि हुने हिंसा, दुर्व्यवहार वा जोखिमको अवस्थामा तत्काल सम्पर्क गर्नुपर्ने विषयमा समेत जानकारी गराइएको छ ।
स्थानीय तहको समन्वयमा सञ्चालन गरिएको यस कार्यक्रमले समुदायमा कृषि, महिला सशक्तीकरण र बाल संरक्षणसम्बन्धी सचेतना बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
प्रतिक्रिया