छ महिनाभित्र सबै कक्षाकोठामा सिसी टिभी जडान गछौँ : अध्यक्ष थापा
काठमाडौं - अनेरास्ववियु त्रिचन्द्र क्याम्पस कमिटिका अध्यक्ष बिरेन्द्र पाल थापाले शैक्षिक वातावरणलाई सुरक्षित र अनुशासित बनाउने उद्देश्यका साथ आगामी छ महिनाभित्र क्याम्पसका सबै कक्षाकोठामा सिसी टिभी क्यामेरा जडान गरिने बताएका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) त्रिचन्द्र क्याम्पस कमिटीको आयोजनामा गरिएको कार्यक्रममा उनले यस्तो बताएका हुन ।
नवआगन्तुक विद्यार्थीहरूका लागि स्वागत कार्यक्रम तथा अङ्ग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम गरिएको थियो । नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्दै थापाले त्रिचन्द्र क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूका लागि महत्वपूर्ण निर्णयहरू गरिएको जानकारी गराउँदै बीएससी तर्फ पहिलो वर्षमा ‘टप टेन’ मा पर्ने विद्यार्थीहरूले दोस्रो वर्षमा भर्ना गर्दा कुनै पनि शुल्क तिर्नु नपर्ने व्यवस्था गरिएको बताए । साथै, बीए तर्फका उत्कृष्ट पाँच जना विद्यार्थीलाई पनि दोस्रो वर्षमा भर्ना शुल्क नलाग्ने निर्णय गरिएको जानकारी दिए ।
त्यस्तै कार्यक्रममा विशिष्ट अतिथिका रूपमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीको उपस्थिति रहेको थियो । उनले विद्यार्थीहरूलाई अध्ययनमा लगनशील भई शैक्षिक उचाइ हासिल गर्न र भावी व्यावसायिक जीवनका लागि अहिलेदेखि नै स्पष्ट लक्ष्यका साथ अघि बढ्न प्रेरित गरे ।
कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दीपक धामीले राजनीति शैक्षिक सुधार र विद्यार्थी हकहितका लागि केन्द्रित हुनुपर्नेमा जोड दिए । अर्का विशिष्ट अतिथि वीरेन्द्र रावलले पनि नवआगन्तुक विद्यार्थीहरूलाई क्याम्पस जीवनको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। नवआगन्तुक विद्यार्थीहरूलाई अबिर र माला लगाएर आत्मीय स्वागत गरिएको थियो भने विभिन्न सांस्कृतिक प्रस्तुतीहरू पनि प्रस्तुत गरिएको थियो ।
प्रतिक्रिया