हिमालय माविलाई जन्मदिनको अवसरमा पौड्यालद्वारा आर्थिक सहयोग

हिमालय माविलाई जन्मदिनको अवसरमा  पौड्यालद्वारा आर्थिक सहयोग

दैलेख : हिमालय माध्यमिक विद्यालय, तीजको डाँडा, चामुण्डा बिन्द्रासैनी नगरपालिका–१, दैलेखलाई आफ्नै जन्मदिनको अवसर पारेर स्थानीय समाजसेवी तथा पूर्व विद्यार्थी  तेजबहादुर पौड्यालले  ५ हजार १ सय ५  रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभएको छ।

२०४४ सालमा स्थापना भई यस क्षेत्रको शैक्षिक उज्यालोका रूपमा परिचित हिमालय माध्यमिक विद्यालयको शैक्षिक तथा भौतिक उन्नयनमा सहयोग पुर्‍याउने उद्देश्यले जन्मदिनजस्तो व्यक्तिगत खुशीको अवसरलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै उहाँले सहयोग गर्नुभएको विद्यालयले जनाएको छ।

चामुण्डा बिन्द्रासैनी नगरपालिका वडा नं  १ निवासी पौड्यालले यही विद्यालयबाट ‘क–ख’ सिकेर आफ्नो शैक्षिक यात्रा सुरु गर्नुभएको हो। अनुशासित, कर्तव्यनिष्ठ, लगनशील, सरल र भद्र व्यक्तित्वका रूपमा चिनिनु हुने उहाँले सामान्य परिवारबाट उठ्दै कठिन परिस्थितिमा निरन्तर संघर्ष र परिश्रममार्फत जीवन सञ्चालन गरिरहनुभएको विद्यालय परिवारको भनाइ छ।

विद्यालय परिवारले उहाँको यो योगदानलाई केवल आर्थिक सहयोग मात्र नभई विद्यालयप्रतिको प्रेम, समाजका लागि प्रेरणादायी उदाहरण र भावी पुस्ताका लागि सकारात्मक संस्कारको बीजारोपणको रूपमा लिएको छ।

विद्यालय परिवारले जन्मदिनको पावन अवसरमा  पौड्यालको सुस्वास्थ्य, दीर्घायु, निरन्तर प्रगति, पारिवारिक सुख–शान्ति तथा सदैव यस्तै समाजसेवी भावना र सफल जीवन यात्राको कामना गर्दै हार्दिक धन्यवाद, उच्च कदर, सम्मान र प्रशंसा व्यक्त गरेको छ।

प्रतिक्रिया