गोठालो हुँदै आवाजविहीनको आवाज बनेका 'हिरा'
दैलेख - दैलेखको एउटा दुर्गम गाउँ, जहाँ विकासका किरणहरू पुग्न बाँकी नै थिए । आमाले जंगलमा घाँस काट्दै गर्दा जन्मिएको शिशुलाई घाँसको भारीसँगै बोकेर घर ल्याएको स्मृतिले संघर्ष, जोखिम र धैर्यले भरिएको उनको जीवनकथा सुरु हुन्छ । ती शिशु अरू कोही नभएर आज कर्णाली प्रदेशकै एक सफल सामाजिक अभियन्ताका रूपमा चिनिने हिरासिंह थापा थिए । कठिन भौगोलिक अवस्था र अभावका बीच जन्मिएका थापाको जीवनको सुरुआती अध्याय कुनै चलचित्रको कथाभन्दा कम छैन ।
पदम बहादुर थापा र बाटु थापाका छोरा हिरासिंहको बाल्यकाल भैंसीको पुच्छर समातेरै बित्यो । परिवारको आर्थिक अवस्था कमजोर भएकै कारण उनी विद्यालय जानुको साटो बुवासँगै कैलालीको सति बजारमा भैंसी चराउन जान्थे । आठ–आठ महिनासम्म गोठालो जीवन बिताएका थापाको जीवनमा २०४२ साल एउटा दुखद तर जीवन परिवर्तनकारी मोड बनेर आयो ।
त्यस वर्ष दूध दिने दुईवटा भैंसी मरे । परिवारका लागि त्यो ठूलो क्षति थियो, तर हिरासिंहका लागि भने त्यही घटनाले शिक्षाको ढोका खोलिदियो । भैंसी मरेपछि बुवाले उनलाई घर फर्काए र अन्ततः १५ वर्षको परिपक्व उमेरमा उनी ‘कक्षा १’ मा भर्ना भए । उनीसँगैका साथीहरू माथिल्लो कक्षामा पुगिसक्दा पनि उनले हिम्मत हारेनन् । बरु, पढाइप्रतिको त्यही तिर्खाले उनलाई एकै वर्षमा तीन कक्षासम्म पार गर्ने ऊर्जा दियो ।
उनको जीवनमा सबैभन्दा ठूलो प्रेरणाको स्रोत उनकी आमा हुन् । कठिन परिस्थितिमा पनि आमाले देखाएको धैर्य, संघर्ष र आत्मबलले उनलाई जीवनभर अघि बढ्न हौसला दिएको उनी बताउँछन् ।
त्यसपछि, विजया उच्च माध्यमिक विद्यालय, दुल्लूमा अध्ययन गर्दा तत्कालीन प्रधानाध्यापक खड्गबहादुर सिजापतिबाट उनले शिक्षा र सामाजिक जिम्मेवारीको गहिरो पाठ सिके । यी दुई व्यक्तित्वले उनको सोच, दृष्टि र यात्रालाई निर्णायक रूपमा आकार दिए ।
द्वन्द्व, जोखिम र अडान
पढ्ने उमेरमा काम गर्नुपरेको र समाजमा व्याप्त विभेदलाई नजिकबाट देखेका थापाभित्र सानैदेखि केही गर्ने हुटहुटी थियो । २०५१ सालमा काठमाडौंमा रहेका साथीहरूसँगको छलफलले सामाजिक संस्था खोल्ने सोच जन्मायो । सोही सोचको मूर्त रूप बन्यो–सोसेक नेपाल ।
२०५४ साल भदौ ११ गते दैलेख जिल्ला प्रशासन कार्यालयमा ११ जना युवा मिलेर यो संस्था दर्ता गरे । थापा स्वयंले यसको नेतृत्व सम्हाले । सुरुका दिनहरू सहज थिएनन् । महिला, दलित र बालबालिकाको अधिकारका कुरा गर्दा तत्कालीन गाउँ विकास समितिहरूले नै अवरोध गर्थे । तर, ‘आवाजविहीनहरूको आवाज’ बन्ने उनको अठोट डगमगाएन ।
द्वन्द्वदेखि अन्तर्राष्ट्रिय सम्मानसम्म
थापाको यात्रामा द्वन्द्वकाल अर्को ठूलो अग्निपरीक्षा बन्यो । माओवादी अपहरणदेखि राज्यको हिरासतसम्मका पीडा उनले भोग्नुपरेको थापा बताउँछन् । सरकारी सेवामा इन्जिनियर र निमित्त प्रमुख प्रशासकीय अधिकृत जस्ता जिम्मेवारी सम्हाल्दा पनि उनले आफ्नो सामाजिक सेवाको कसमलाई भुलेनन् ।
उनको नेतृत्वमा सोसेक नेपालले कर्णालीका ७ जिल्ला, सुदूरपश्चिमको अछाम र लुम्बिनी प्रदेशका २ जिल्लासम्म आफ्नो कार्यक्षेत्र फैलाएको छ । राउटे र कुसुण्डा जस्ता लोपोन्मुख समुदायको उत्थान होस् वा छाउपडी र बालविवाह विरुद्धको अभियान, थापा सधैँ अग्रपङ्क्तिमा रहे । उनको यही निस्वार्थ सेवाकै कारण सन् २०१८ मा उनले अन्तर्राष्ट्रिय स्तरको (एनपीआइसी अवार्ड) समेत प्राप्त गरे ।
हिंसा पीडित महिलाका लागि ‘माइती’ र जोखिममा रहेका बालबालिकाका लागि ‘मावली’ बनेको अनुभूति नै उनको सबैभन्दा ठूलो सन्तुष्टि हो । राउटे, कुसुण्डा जस्ता पछाडि पारिएका समुदायका लागि आवाज उठाउन पाउनु उनको लागि गर्वको विषय हो ।
छाउपडी प्रथा न्यूनीकरण, बालविवाह रोकथाम, मानसिक समस्या भएका व्यक्तिहरूलाई सहयोग, मर्यादित महिनावारी जस्ता विषयमा संस्थाले उल्लेखनीय परिवर्तन ल्याएको छ ।
आज झन्डै २८ वर्षको संस्थागत यात्रामा थापाले १३ वर्ष अध्यक्ष र पछिल्ला तीन वर्षदेखि कार्यकारी निर्देशकका रूपमा काम गरिरहेका छन् । उनी भन्छन्, “हिंसापीडित महिलाका लागि यो संस्था माइती बनेको छ भने जोखिममा रहेका बालबालिकाका लागि मावली ।’
समाज परिवर्तनका लागि ठूला भाषण भन्दा पनि व्यक्तिगत आचरणमा सुधार आवश्यक रहेको उनी बताउँछन् । ‘हामी अरूले आफ्ना चेलीबेटीलाई नराम्रो नजरले हेर्दा रिसाउँछौँ, तर आफैँ अर्काको परिवारप्रति गलत सोच राख्छौँ,’ थापा भन्छन्', ‘हिंसामुक्त समाजका लागि पहिले ‘म’ आफैँ बदलिनुपर्छ ।’
राज्य नपुगेका ठाउँमा पुगेर आवाजविहीनको आवाज बन्ने अभियान जारी रहने उनको विश्वास छ । भविष्यमा दैलेखमा हिंसापीडित महिला र जोखिममा रहेका बालबालिकाका लागि एउटा सुविधायुक्त दीर्घकालीन पुनःस्थापना केन्द्र स्थापना गर्ने थापाको मुख्य लक्ष्य रहेको बताउँछन् ।
१५ वर्षको उमेरमा कखरा सिक्न सुरु गरेका ती गोठालो ठिटो आज हजारौँको सहारा बनेका छन् । हिरासिंह थापाको कथाले भन्छ– इच्छाशक्ति र धैर्यता भए अभाव र उमेरले सफलतालाई कहिल्यै रोक्न सक्दैन ।
प्रतिक्रिया