खाँडाचक्र नगरपालिकामा सशक्त महिला, समृद्ध नेपाल कार्यक्रमका सहजकर्ताहरू सम्मानित
कालिकोट: युरोपियन युनियन र युएनएफपीएको आर्थिक सहयोग तथा खाँडाचक्र नगरपालिकाको सहयोग र समन्वयमा सोसेक नेपालद्वारा सञ्चालित “सशक्त महिला, समृद्ध नेपाल” कार्यक्रम अन्तर्गत कार्यरत सबै सहजकर्ताहरूलाई खाँडाचक्र नगरपालिकाले एक भव्य कार्यक्रमका बिच शुक्रबार सम्मान गरेको छ ।
नगरपालिकाले कार्यक्रमको अपनत्व ग्रहण गर्दै विद्यालयहरूमा सञ्चालन भएको रूपान्तरण कक्षा सहजिकरण गर्ने साथी सहजकर्ता ७ जना , परिवार सम्बाद सहजीकरण गर्ने समुदाय सहजकर्ता ३ जना , समुदाय सहजकर्ता तथा अन्तर पुस्ता संवादमा सहजीकरण गरेका २ जना जिबिभी च्याम्पियनहरूले गरेको कामको उच्च मूल्याङ्कन गर्दै दोसल्ला सहित प्रशंसा–पत्र प्रदान गरी सम्मान गरेको हो ।

खाँडाचक्र नगरपालिकामा “सशक्त महिला, समृद्ध नेपाल” कार्यक्रम अन्तर्गत विशेष गरी लैङ्गिक हिंसा रोकथाम, सामाजिक हानिकारक मूल्य–मान्यता परिवर्तन, लैङ्गिक हिंसा प्रतिकार्य, महिलाको आर्थिक सशक्तीकरण तथा लैङ्गिक समानता कायम गर्न विभिन्न समुदाय–आधारित गतिविधिहरू सञ्चालन हुँदै आएका छन् । सशक्त महिला समृद्ध खाँडाचक्र बनाउनु पर्छ भन्ने उद्देश्यका साथ अगाडि बद्नुका साथै यस कार्यक्रमका कारण नगरपालिकामा विद्यमान हानिकारक सामाजिक सोचमा बिस्तारै परिवर्तन हुँदै गएको खाँडाचक्र नगरपालिकाका प्रमुख शाहीले बताए । साथै सोसेक नेपालद्वारा सञ्चालित सशक्त महिला, समृद्ध नेपाल कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाए ।

खाँडाचक्र नगरपालिकाका उपप्रमुख गणेश बहादुर शाहीले किशोर–किशोरीहरूको व्यक्तित्व विकास, लैङ्गिक समानता र अधिकारका विषयमा रूपान्तरण कक्षा अत्यन्त प्रभावकारी भएको बताए ।
सम्मान कार्यक्रममा नगरप्रमुख कमल शाहीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा उपप्रमुख गणेश शाही, कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृत जसीप्रसाद चौलागाई , वडा अध्यक्षहरू, नगरपालिकाका कर्मचारी, लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया