चुनाव आचारसंहिता जारी, सरकारी निकायले प्रचार गर्न नपाउने
काठमाण्डौ : फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले निर्वाचन आचारसंहिता जारी गरेको छ। आचारसंहिताअनुसार सरकारी तथा अर्धसरकारी निकायले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा गतिविधि गर्न नपाउने व्यवस्था गरिएको छ।
आचारसंहितामा कुनै पनि परियोजनाका स्रोत, साधन तथा सम्पत्ति राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रयोग गर्न नपाइने स्पष्ट गरिएको छ। यसैगरी, निर्वाचन आयोगले सञ्चालन गर्ने निर्वाचन व्यवस्थापन, मतदाता शिक्षा तथा अन्य कार्यक्रमहरूमा अवरोध पुग्ने कुनै पनि कार्य गर्न, निर्वाचनसम्बन्धी सामग्री वा सूचनामा हेरफेर गर्न वा गराउन पनि निषेध गरिएको छ।
सरकारी वा अर्धसरकारी निकाय, सार्वजनिक संस्था, विश्वविद्यालय, विद्यालय तथा महाविद्यालयको क्षेत्र प्रयोग गरी चुनावसम्बन्धी भेला, बैठक, जुलुस वा प्रचारप्रसार गर्न नपाइने व्यवस्था आचारसंहितामा गरिएको छ।
त्यसैगरी, राजनीतिक दल वा उम्मेदवारको चुनाव चिह्न अङ्कित ज्याकेट, कमिज, टिसर्ट, टोपी, गम्छा, मास्क, लकेट, झोला, ब्याच, स्टिकर, लोगो, ट्याटुजस्ता साङ्केतिक सामग्री उत्पादन, प्रयोग, बिक्री वितरण वा प्रदर्शन गर्न नपाइने व्यवस्था गरिएको छ।
घर वा जग्गाधनीको स्वीकृति बिना कसैको निजी वा संस्थागत स्वामित्वको घरजग्गामा राजनीतिक गतिविधि वा प्रचारप्रसार गर्न नपाइने उल्लेख गरिएको छ। साथै, बालबालिकालाई चुनावी प्रचारप्रसारमा प्रयोग गर्न वा गराउन नपाइने व्यवस्था पनि आचारसंहितामा समावेश गरिएको छ।
सार्वजनिक आवागमनमा अवरोध हुने गरी जुलुस, आमसभा, कोणसभा, भेला वा बैठक गर्न निषेध गरिएको छ भने सामाजिक सञ्जालमार्फत गलत, भ्रामक तथा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउनसमेत नपाइने व्यवस्था गरिएको छ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन सबै पक्षलाई आचारसंहिता पूर्ण रूपमा पालना गर्न निर्वाचन आयोगले आग्रह गरेको छ।
प्रतिक्रिया