१ लाखबाट १० लाखसम्म : बाज्थाला महिला समूहको आत्मनिर्भरताको १० वर्षे कथा
दैलेख - गाउँको बिहानी उस्तै हुन्छ-घरधन्दा, गोठालो र खेतबारी । तर दैलेखको भैरवी गाउँपालिका बाज्थाला गाउँका २६ जना महिलाका लागि यो बिहान केवल दैनिकी होइन, आत्मनिर्भरताको यात्राको निरन्तरता हो । आज उनीहरू आफ्नो श्रम, बचत र सहकार्यको परिणामस्वरूप आर्थिक रूपमा सबल बन्दै गएका छन्। यो सम्भव भयो, करिब १० वर्षअघि सुरु गरेको लगानीले यो सफलता दिलाएको हो ।
एईआइएन लक्जेम्बर्गको साझेदारीमा भैरवी गाउँपालिकाको समन्वय सोसेक नेपालद्वारा संचालित आधार परियोजनाको सहजीकरणमा दश वर्ष अघि बाज्थाला महिला समूहलाई आयआर्जन कार्यक्रमअन्तर्गत जम्मा १ लाख ३७ हजार रुपैयाँ लगानी गरिएको थियो । जस्को उद्देश्य स्पष्ट थियो—महिलालाई आत्मनिर्भर बनाउने । सो रकम २६ जना सदस्यलाई भैँसी र बाख्रा पालन व्यवसायका लागि वितरण गरियो ।
शुरुका दिन सहज थिएनन्। कतिपय सदस्यलाई पशुपालनको अनुभव थिएन, बजारको पहुँच कमजोर थियो । तर समूहमा बसेर छलफल गर्ने, सिक्ने र एक–अर्कालाई साथ दिने अभ्यासले बिस्तारै महिलाहरूको आत्मविश्वास बढ्दै गयो । सोसेक नेपालले सहजीकरणमार्फत बचत, ऋण व्यवस्थापन र समूह सञ्चालनका आधारभूत सीप सिकायो ।
त्यसपछि महिलाहरूले मासिक बचत गर्न थाले। ६/६ महिनाका लागि आन्तरिक ऋण लगानी गरियो-कहिले पशु थप्न, कहिले व्यवसाय विस्तार गर्न । ऋण १ प्रतिशत ब्याजदरमा पारदर्शी रूपमा सञ्चालन भयो । आज, १० वर्षपछि, बाज्थाला महिला समूहको अवस्था पहिलेको भन्दा पूर्णतः फेरिएको छ । समूहको कुल साँवा रकम १० लाख ५८ हजार ९१५ रुपैयाँ पुगेको छ । यो रकम कागजमा मात्रै होइन, महिलाहरूको जीवनमा प्रत्यक्ष देखिने परिवर्तन हो । समूहकी एक सदस्य भन्छिन्, “पहिला पैसाको नाम सुन्न पनि डर लाग्थ्यो । अहिले हामी आफैं बचत गर्छौं, ऋण चलाउँछौं, हिसाब–किताब राख्छौं।”
यो कार्यक्रम केवल पैसा बढाउने कथा होइन । यो महिलाहरूमा बचत गर्ने बानी, आर्थिक अनुशासन र आत्मसम्मान विकास गराउने यात्राको कथा हो। सदस्यहरू खुलेर भन्छन्आ-फूलाई बचत गर्ने, समूहमा संगठित हुने र परिचय नै दिलाउने संस्था सोसेक नेपाल हो ।
आज बाज्थाला महिला समूहले गाउँमै उदाहरण सिर्जना गरेको छ। अन्य महिलाहरू पनि समूहमा आबद्ध हुन इच्छुक छन्। पशुपालनबाट आम्दानी बढेको छ, घरखर्च सहज भएको छ र महिलाको निर्णय क्षमता बलियो बनेको उनीहरुको भनाई छ ।
बाज्थाला महिला समूहको यो १० वर्षे यात्रा ग्रामीण महिला सशक्तीकरणको जीवित उदाहरण हो । सानो लगानी, सही सहजीकरण र महिलाको प्रतिबद्धताले कसरी ठूलो परिवर्तन सम्भव हुन्छ भन्ने कुरा यसले प्रमाणित गरेको छ।
प्रतिक्रिया