राउटे समुदायका युवाहरु प्राथमिक उपचारको आधारभूत सीप सिक्दै

राउटे समुदायका युवाहरु प्राथमिक उपचारको आधारभूत सीप सिक्दै

सुर्खेत:  लोपोन्मुख फिरन्ते जाति राउटे समुदायका युवाहरुलाई प्राथमिक उपचारका आधारभूत सीप सिकाउन थालिएको छ । राउटे समुदायले नेपाललाई विश्वमा चिनाएको छ । नेपालको सांस्कृतिक विविधता झल्काउन पनि यो जातिको भूमिका महत्त्वपूर्ण मानिन्छ । राउटे दैलेख, सुर्खेत, अछाम,जाजरकोट, सल्यान आसपासका जंगलमा बस्दै आएका छन् । नेपालको सम्पदा र कर्णालीको गहनाको रूपमा चिनिने राउटे जाति दक्षिण एसियाकै एकमात्र फिरन्ते जाति हो ।
राउटे समुदायको जिविकोपार्जन सुधारमा काम गर्दै आएको सोसेक नेपाल द्धारा राउटे समुदायमा सञ्चालित राउटे परियोजनाले राउटे समुदायको स्वास्थ्य सुधारका लागि प्राथमिक उपचार ३ दिने तालिम सुरु गरिएको हो । 
मंगलबार लेकवेशी नगरपालिका–७, पुलटारमा आयोजित कार्यक्रम कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले तालिमको समुद्घाटन गरेका हुन् ।
तालिमको उद्घाटन गर्दै मन्त्री भण्डारीले राउटे समुदाय कर्णालीको पहिचान भएकाले उनीहरुको संरक्षण गर्नु सबैको दायित्व रहेको बताए । ‘कुनै समय पैसा छोए पाप लाग्छ भन्ने राउटे समुदायका नवयुवाहरुले आधुनिक स्वास्थ्य उपचारप्रति देखाएको चासोले आधुनिकीकरणको सन्देश दिएको छ,’ अब राउटेको स्वास्थ्यप्रति सबैले चासो राख्न आवश्यक छ ।’ साथै मन्त्री भण्डारीले राउटे नीति बनेसँगै उनीहरुको रहनसहन र रितिरिवाजमा असर नपर्ने गरी विस्तारै आधुनिकीकरणमा सरकारले नीति तथा कार्यक्रम केन्द्रित गर्ने बताए ।


कार्यक्रममा गुराँस गाउँपालिका दैलेखका अध्यक्ष टोपबहादुर विसीले राउटे समूदायको पहिचान यथावत राखेर आधुनिकरणतर्फ लैजाने प्रयास गरिरहेको बताए । ‘यसअघि आधुनिक चिकित्सा प्रणालीको नामै सुन्न नचाहने राउटेमा पछिल्लो समयमा आइरहेको परिवर्तनले उनीहरु आम नागरीकसरह जीउन चाहेको तथ्य पुष्टि भइरहेको छ,’ उनले बताए । उनले कार्यपालिका बैठकबाट राउटेलाई नागरिकता दिने प्रस्ताव पास भई अगाडी बढेको जानकारी दिदै अबको केही समयमा नागरिकता उपब्ध गराइने उनले बताए ।


यस्तै, पछिल्लो समय राउटे समुदायमा आधुनिक चिकित्सा उपचार विधिमा विश्वास गर्न थालेसँगै यो समूदायका युवाहरुलाई प्राथमिक उपचार तालिम दिन लागिएको सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिहं थापाले बताए । राउटे समुदाय परम्परागत घरेलु उपचार पद्दतीले राउटे समूदायमा जटिल खालका स्वास्थ्य समस्या देखापर्न थालेपछि नयाँ पिढीलाई आधुनिक उपचार पद्दतीका बारेमा जानकारी दिन तालिम आयोजना गरिएको थापाले बताए ।

 

अहिले राउटेहरु लेकवेशी नगरपालिका–७, सुर्खेतको जंगलमा बसोवास गर्दै आएका छन् । तालिममा राउटे समुदायका आठ महिला र सात पुरुष गरी १५ जनाको सहभागिता छ । उनीहरुलाई नेपाल रेडक्रस शाखा सुर्खेतका स्वास्थ्यकर्मीहरुले प्रयोगात्मक अभ्यासमार्फत प्राथमिक उपचारका आधारभूत सीप सिकाउने छन् । तालिम पश्चात उनीहरुले आफ्नो समुदायमा गएर चोटपटक तथा अन्य स्वास्थ्य समस्या देखापरेको खण्डमा अस्पताल पु¥याउनुपूर्व प्राथमिक उपचार गर्न सक्षम हुने अपेक्षा गरिएको छ । 


जंगलमा पाइने कुकाठबाट बनाइएका कोसी, मधुश, आरी र खाट जस्ता काठका सामग्रीहरु विक्री गर्ने राउटे आफुले बनाएका सामग्रीहरु विभिन्न गाउँ तथा बजारहरुमा पुगेर बिक्री गर्ने गरेका छन ।  कर्णाली र सुदुरपश्चिम प्रदेशका जंगलमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायको जनसंख्या हाल एक सय ३३ छ । कर्णाली प्रदेशका केही जिल्लामा घुमन्ते जीवन बिताइरहेका राउटे समुदायको जनसंख्या घट्दो क्रममा छ । निरन्तर जनसंख्या घट्न थालेपछि राउटे समुदायको अस्तित्वका बारेमा चिन्ता गर्न थालिएको हो ।

प्रतिक्रिया