रास्वपा समानुपातिक उम्मेदवार सूचीबाट वलीले किन लिइन् नाम फिर्ता ?

रास्वपा समानुपातिक उम्मेदवार सूचीबाट वलीले किन लिइन् नाम फिर्ता ?

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक बन्द सूचीमा नाम समावेश भएपछि उत्पन्न बहस र प्रश्नबीच ट्राभलर सृजना वलीले आफ्नो उम्मेदवारी फिर्ता लिएको स्पष्ट पारेकी छन् । यात्राकै क्रममा हतारमा गरिएको निर्णयले आफूलाई आत्ममन्थन गर्न बाध्य बनाएको उल्लेख गर्दै वलीले अहिले राजनीति भन्दा बाहिर रहेर पर्यटन र ग्रामीण अर्थतन्त्रमा योगदानलाई निरन्तरता दिने बताएकी छन्।

वलीले सामाजिक सञ्जालमार्फत लामो स्पष्टीकरण दिँदै समानुपातिक सूचीमा नाम पर्नु योजनाबद्ध नभई यात्राकै क्रममा भएको आकस्मिक निर्णय भएको बताएकी छन् । ढोरपाटन, रुकुम पूर्व पश्चिम, बुर्तिबाङ, चुङ्री बुक्की जस्ता क्षेत्रमा एकल यात्रा गर्दै पर्यटन सम्भावनाको अध्ययन गरिरहेका बेला आफूलाई समानुपातिक सूचीमा राख्ने प्रस्ताव आएको उनको भनाइ छ ।

यात्राका कारण निर्णयका लागि पर्याप्त समय नपाएको र बन्द सूचीमा नाम सार्वजनिक भएपछि मात्र यसको गम्भीरता महसुस भएको वलीले उल्लेख गरेकी छन्। ‘यो निर्णय अलि हतारमा भएछ’ भन्दै उनले सामाजिक सञ्जालमा उठेका प्रश्न, आलोचना र जिज्ञासालाई स्वाभाविक मानेकी छन् ।

राजनीतिक पृष्ठभूमिसँग जोडिएका टिप्पणीबारे प्रष्ट्याउँदै वलीले आफूले जीवनका अधिकांश निर्णय स्वतन्त्र रूपमा लिँदै आएको र परिवारको नाम प्रयोग गरेर अघि बढ्ने सोच कहिल्यै नराखेको बताइन् । वन विज्ञान अध्ययन, एकल यात्रामार्फत कर्णाली, सुदूरपश्चिम र पहाडी जिल्लाका लुकेका गन्तव्यको प्रवर्द्धन नै आफ्नो मुख्य एजेन्डा रहेको उनको भनाइ छ ।

हुम्लाको लिमी उपत्यका, डोल्पाको कागमारा, ढोरपाटनका पाटन, मुन्धुम ट्रेल, सिंजा उपत्यका जस्ता क्षेत्रमा गरेको लामो यात्रा र स्थानीयसँगको सहकार्यले आफूले पर्यटनमार्फत गाउँमै रोजगारी र आशा सिर्जना गर्न खोजेको वलीले दाबी गरेकी छन् ।

उनले स्पष्ट पार्दै भनिन, ‘म अहिले राजनीतिमा आउँदिन । तर यसको अर्थ म राजनीति बुझ्दिनँ वा भिजन छैन भन्ने होइन ।’ समानुपातिक सूचीमा बसेर पद ओगट्ने सोच नरहेको उल्लेख गर्दै उनले आफ्नो नाम फिर्ता लिइसकेको जानकारी दिएकी छन्, यात्रामा रहेकाले सार्वजनिक जानकारी दिन ढिलाइ भएको पनि उनले स्वीकारेकी छन् ।

वलीले पर्यटनलाई नेपालको अर्थतन्त्र सुदृढ गर्ने मुख्य आधारको रूपमा व्याख्या गर्दै, भविष्यमा पनि राजनीति बाहिरै रहेर पर्यटन र ग्रामीण विकासका क्षेत्रमा निरन्तर काम गर्ने प्रतिबद्धता जनाएकी छन् ।

प्रतिक्रिया