दैलेखमा प्रशासन प्रहरीको संयुक्त सार्वजनिक सुनुवाइ सम्पन्न

दैलेखमा प्रशासन प्रहरीको संयुक्त सार्वजनिक सुनुवाइ सम्पन्न


दैलेख : जिल्ला प्रशासन कार्यालय दैलेखको आयोजनामा तथा जिल्ला प्रहरी कार्यालय दैलेखको समन्वय र सहजीकरणमा बुधबार जिल्ला समन्वय समितिको सभाहलमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा यातायात व्यवस्थापन, बजार अनुगमन, जडीबुटी निकासी, पत्रकार सुरक्षा, जनावर आतंकलगायतका गम्भीर तथा जनसरोकारका विषयहरू उठान गरिएको थियो। उठेका गुनासाहरूको कानुनअनुसार समाधान र कारबाही गरिने प्रतिबद्धता प्रमुख जिल्ला अधिकारी आनन्द सारुले जनाएका छन्।

प्रमुख जिल्ला अधिकारी सारुले प्रशासनबाट भएका कमजोरीहरू सुधार गर्दै जाने र नियमविपरीत कार्य गर्ने व्यक्ति वा संस्थालाई कुनै पनि हालतमा नछोडिने स्पष्ट पारे। नागरिकका गुनासा सम्बोधन गर्नु प्रशासनको प्रमुख प्राथमिकता रहेको उनले बताए।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख डीएसपी गणेशबहादुर बरालले ट्राफिक प्रहरीबाट अवैध असुली वा बिना कारण दुःख दिने कार्य भए कडा कारबाही गरिने स्पष्ट गरे। हाल फरार कैदी र अवैध हातहतियारको जोखिमका कारण चेकजाँच कडाइ गरिएको जानकारी दिँदै नागरिकलाई यसलाई झन्झटको रूपमा नलिन आग्रह गरे। आगामी दिनमा बजार अनुगमन र यातायात व्यवस्थापनलाई थप प्रभावकारी बनाइने उनले बताए।

कार्यक्रममा यसअघि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले अर्धवार्षिक रूपमा सञ्चालन गरेका कार्यक्रमहरूको प्रस्तुतीकरण पनि गरिएको थियो। जिल्ला प्रशासन कार्यालयले नागरिकमैत्री सेवा प्रवाहमा सुधार आएको जनाएको छ भने जिल्ला प्रहरी कार्यालयले जातीय छुवाछुत, महिला हिंसा, यातायात तथा अन्य आपराधिक घटनामा नियन्त्रण र सुधार आएको दाबी गरेको छ।

नारायण नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष शैलेश श्रेष्ठले जनावर आतंकका कारण स्थानीयवासीहरू अत्यधिक पीडित भएको बताए। जनावर आतंककै कारण बसाइँसराइ बढ्दै गएको उल्लेख गर्दै उनले यस विषयमा जिल्ला प्रशासन कार्यालय र डिभिजन वन कार्यालयले प्रभावकारी समाधान खोज्नुपर्नेमा जोड दिए।

नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष अमर सुनारले समाचार प्रकाशनकै कारण पत्रकारहरूलाई धम्की आउने विषय गम्भीर रहेको बताए। पत्रकार सुरक्षालाई प्रशासन र प्रहरीले उच्च प्राथमिकतामा राख्नुपर्ने माग गर्दै आवश्यक परे महासंघले सम्बन्धित व्यक्तिविरुद्ध उजुरी दर्ता गर्ने र प्रशासन तथा प्रहरीलाई जानकारी गराउने बताए। साथै, आगामी दिनमा सार्वजनिक सुनुवाइ कार्यक्रमलाई अझ प्रभावकारी बनाउन पत्रकारहरूले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दैलेखका दाेस्राे कार्यकालका  अध्यक्ष कमल शर्माले बजार अनुगमन साना व्यापारीमै सीमित हुने गरेको आरोप लगाए। ठूला व्यापारीमाथि प्रभावकारी अनुगमन नदेखिएको भन्दै उनले सार्वजनिक सुनुवाइमा नागरिकको व्यापक सहभागिता आवश्यक रहेको धारणा राखे।

पत्रकारहरूले यातायात व्यवस्थापन र जडीबुटी निकासी क्षेत्रमा जिल्ला प्रशासन कार्यालयबाट नियमित अनुगमन र कडाइ गर्न माग गरे। हालै निकासी भइरहेको चुत्राको जरासम्बन्धी समाचार तथा रिपोर्टिङ गर्दा उल्टै धम्की आएको पत्रकार दिपेन्द्र कार्कीले जानकारी दिए। अन्य पत्रकारहरूले पनि प्रशासन र प्रहरीलाई यी क्षेत्रमा गम्भीर भएर काम गर्न आग्रह गरे।

कार्यक्रममा अटो व्यवसायी चक्र गौतमले नारायण नगरपालिका भित्र दर्ता भएका अटोको संख्या, सञ्चालन अवस्था र कर तिर्ने प्रक्रियाबारे प्रश्न उठाए। दैलेख–सुर्खेत आवतजावतका क्रममा विभिन्न चेकपोष्टमा समस्या भोग्नुपरेको र सिफारिस लिएर जाँदा पनि महँगो शुल्क तिर्नुपर्ने गुनासो उनले गरे।

सार्वजनिक सुनुवाइ कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख केशवबहादुर शाही, नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, गैरसरकारी संस्थाका प्रतिनिधि तथा पत्रकारहरूको उल्लेख्य सहभागिता रहेको थियो।

प्रतिक्रिया