खाडाचक्र ३ मा महिला सञ्जालको पहलमा शिव मन्दिर निर्माण हुने
कालिकोट - कालिकोटको खाडाचक्र नगरपालिका वडा नं. -३ मा गठित महिला सञ्जालले वडाबाट २ लाख ५० हजार रुपैयाँ बजेट माग गर्दै प्रस्तावना पेश गरेको छ।
एईआइएन लक्जेम्बर्गको साझेदारी खाडाचक्र नगरपालिकाको समन्वय सोसेक नेपालद्वारा संचालित आधार परियोजनाको सहजीकरणमा प्रस्तावनाका विषयमा आयोजित महिला सञ्जालको बैठकले वडा अध्यक्षको उपस्थितिमा शिव मन्दिर निर्माण गर्ने निर्णय गरेको हो ।
महिला सञ्जालकी अध्यक्ष बिस्ना पाण्डेको अध्यक्षतामा सम्पन्न बैठकमा सञ्जालका सदस्यहरूसँग विस्तृत छलफलपछि शिव मन्दिर निर्माण कार्य अगाडि बढाउने सहमति जुटाइएको बताइएको छ । मन्दिर निर्माण कार्यलाई पारदर्शी र व्यवस्थित रूपमा सञ्चालन गर्न उपभोक्ता समिति गठन गरिएको छ ।
गठित उपभोक्ता समितिमा महिला सञ्जालकै अध्यक्ष बिस्ना पाण्डेलाई अध्यक्ष, सिर्जना शाहीलाई सचिव र मना पाण्डेलाई कोषाध्यक्षको जिम्मेवारी दिइएको छ। साथै समितिमा दुई जना सदस्य समेत रहने व्यवस्था गरिएको छ। बैठकले उक्त उपभोक्ता समितिको नाममा रावा बैंकमा खाता खोल्ने निर्णयसमेत पारित गरेको छ।
बैठकमा बोल्दै महिला सञ्जालकी अध्यक्ष बिस्ना पाण्डेले लामो समयदेखि सार्वजनिक रूपमा आफ्नो नाम लिन हिच्किचाउने महिलाहरू आज नेतृत्वदायी भूमिकामा आइपुगेको बताउँदै यसले महिला सशक्तीकरणमा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरिन् ।
यसै क्रममा बैठकमा महिला तथा बालबालिकाका सवालमा सेफ हाउस र बालहेल्पलाइन १०९८ सम्बन्धी जानकारीसमेत प्रदान गरिएको थियो। सहभागीहरूले हिंसा, जोखिम तथा आपतकालीन अवस्थामा यस्ता सेवाको उपयोग महत्वपूर्ण हुने बताउँदै जानकारीलाई समुदायस्तरसम्म फैलाउनुपर्नेमा जोड दिएका छन्।
प्रतिक्रिया