सरस्वतीमा गुनासो संरक्षण तथा हस्तान्तरण सम्बन्धी तालिम सम्पन्न
दैलेख - दैलेखको भगवतीमाई गाउँपालिका स्थित श्री सरस्वती आधारभूत विद्यालयमा शान्ति बाल क्लबका विद्यार्थीहरूलाई लक्षित गर्दै एकदिने गुनासो संरक्षण तथा हस्तान्तरण सम्बन्धी तालिम सम्पन्न भएको छ।
तालिममा ३२ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो। अस्ट्रेलियन एड कारितास नेपालको साझेदारी भगवतीमाई गाउँपालिकाको समन्वय सोसेक नेपालद्वारा संचालित नेपाल जीविकोपार्जन तथा उत्थानशीलता परियोजनाको सहजीकरणमा सम्पन्न भएको हो ।
कार्यक्रमको मुख्य उद्देश्य विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई आफ्ना गुनासोहरू सुरक्षित, गोप्य र सही तरिकाले राख्न सक्ने ज्ञान प्रदान गर्नु रहेको नेपाल जीविकोपार्जन उत्थानशील परियोजनामा कार्यरत सामाजिक सहजकर्ता सम्झना थापामगरले जानकारी दिइन् ।उनका अनुसार बाल अधिकार, संरक्षण र सुरक्षासम्बन्धी विषयमा विद्यार्थीहरूको चेतना अभिवृद्धि गर्ने लक्ष्यसमेत रहेको थियो ।
तालिमका क्रममा विद्यालयभित्र हुने समस्या, हिंसा, भेदभाव तथा दुर्व्यवहारको पहिचान कसरी गर्ने भन्ने विषयमा सहजीकरण गरिएको थियो। साथै गुनासो कसरी, कहाँ र कसलाई दिने भन्ने स्पष्ट प्रक्रिया विद्यार्थीहरूलाई व्यवहारिक उदाहरणसहित सिकाइएको थापामगरले जानकारी दिइन् ।
कार्यक्रमले विद्यार्थी, शिक्षक तथा विद्यालय व्यवस्थापनबीच आपसी विश्वास र पारदर्शिता बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । सहभागी विद्यार्थीहरूले यस्तो तालिमले आफूहरूलाई विद्यालयमा देखिने समस्या खुलस्त रूपमा राख्न आत्मविश्वास बढाएको प्रतिक्रिया दिएका छन्।




प्रतिक्रिया