दैलेख जिल्लाका ९० वडामा विद्युतको पहुँच
दैलेख : जिल्ला अब पूर्ण रूपमा विद्युतको पहुँचमा पुगेको छ। जिल्लाका जम्मा ९० वडामध्ये विद्युत पुग्न बाँकी रहेको अन्तिम वडा आठबिस नगरपालिका–५ मालाचौरमा विद्युत सेवा सञ्चालनमा आएसँगै सबै वडामा विद्युतको पहुँच पुगेको हो।
दैलेख विद्युत वितरण केन्द्रका अनुसार यसअघि ९० वडामध्ये ८८ वडामा विद्युत विस्तारको काम सम्पन्न भइसकेको थियो भने महाबु गाउँपालिकाकाे ६ नं वडामा पनि काम सम्पन्न भई हाल मिटर जडानको प्रक्रिया भइरहेको छ। आठबिस नगरपालिका–५ मालाचौरमा विद्युत पुगेपछि जिल्लाका सबै वडामा औपचारिक रूपमा विद्युत सेवा पुगेको वितरण केन्द्रले जनाएको छ।

यद्यपि, जिल्लाका केही गाउँबस्तीमा अझै विद्युत सेवा पुग्न बाँकी रहेकाले ती स्थानहरूमा समेत विद्युत विस्तारको काम तीव्र रूपमा अगाडि बढाइएको वितरण केन्द्रले जानकारी दिएको छ। मालाचौर क्षेत्रमा नियमित बजेटमार्फत काम भइरहेको छ भने अन्य गाउँबस्तीमा विद्युत पुर्याउन टेन्डर प्रक्रियामार्फत काम भइरहेको जनाइएको छ।
त्यसैगरी, चामुण्डा–विन्द्रासैनी नगरपालिकामा नगरपालिकाको र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा विद्युत विस्तारको काम भइरहेको छ। पोल अभावका कारण केही ढिलाइ भए पनि काम निरन्तर भइरहेको बताइएको छ।
विद्युत नपुगेका स्थानहरूमा विद्युत कार्यालयले स्टिमेट तयार गरी काम अघि बढाइरहेको छ। हाल एक परियोजना जिल्लास्तरबाट, दुई प्रदेशस्तरबाट र एउटा सम्झौता हुन बाँकी रहेको जानकारी दैलेख विद्युत वितरण केन्द्रका प्रमुख टंकराज गिरीले दिएका छन्। यी सबै योजनाबाट काम सम्पन्न भएमा जिल्लाका सम्पूर्ण बस्तीमा विद्युत सेवा पुग्ने उनको भनाइ छ।
सामुदायिक ग्रामीण विद्युत विभाग काठमाडौं मार्फत पनि काम भइरहेको छ। महाबु गाउँपालिका–६ मा करिब ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ भने टाकुरी क्षेत्रमा केही काम बाँकी रहेको छ।
विद्युत विस्तारसँगै दैलेख जिल्लाका ग्रामीण बस्तीहरूमा विकास, शिक्षा, स्वास्थ्य र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया