बिहानीले जुम्लामा ल्याउँदै सकारात्मक परिर्वतन
दैलेख - जुम्लाको चन्दनाथ नगरपालिका वडा नम्बर -८ अन्तर्गत तलिम टोलमा सन् २०२५ मा सोसेक नेपालले सञ्चालन गरेका विभिन्न सामाजिक कार्यक्रमहरूको फलोअप तथा समीक्षा गरिएको छ । एईआइएन लक्जेम्बर्गको साझेदारी चन्दननाथ नगरपालिकाको समन्वय सोसेक नेपालद्वारा संचालित बिहानी परियोजनाको सहजीकरणमा उक्त कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रममा समुदायमा आएको परिवर्तनको अवस्थाबारे छलफल गर्नुका साथै आगामी आर्थिक वर्षमा कस्ता कार्यक्रम सञ्चालन गर्दा अझ प्रभावकारी सामाजिक रूपान्तरण सम्भव हुन्छ भन्ने विषयमा पनि गहन बहस गरिएको थियो।
फलोअप कार्यक्रममा सहभागी स्थानीय महिलाहरूले सोसेक नेपालका हस्तक्षेपले आफ्नो समुदायमा सकारात्मक परिवर्तन आएको अनुभव साझा गरेका छन्।
वडा नम्बर ८ की शोभा नेपालीले विगतमा समुदायमा घरेलु हिंसा र सासु–बुहारीबीच मनमुटावका घटना सामान्य हुने गरेको स्मरण गरिन् । सोसेक नेपालले घरेलु हिंसा सम्बन्धी सासु–बुहारीलाई समेटेर कार्यक्रम सञ्चालन गरेपछि घर–घरमा शान्ति छाएको र हाल घरेलु हिंसाका घटना नदेखिएको बताइन्।
यसैगरी भगवती रावलले छाउपडी प्रथाका कारण महिलाहरू सात दिनसम्म छुट्टै बस्नुपर्ने, गाईको गोठमा सुत्नुपर्ने र देवता रिसाउने डरले मानसिक त्रास भोग्नुपर्ने अवस्था रहेको बताइन्। सोसेक नेपालले छाउपडी सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेपछि आफू स्वयं परिवर्तन भएको र अहिले महिलाहरू आफ्नै कोठामा बस्न थालेको उल्लेख गरिन्। उनका अनुसार अन्धविश्वास हट्दै गएको छ र अहिले छोरी-बुहारीलाई पनि घरमै सुरक्षित बस्न दिइएको बताइएको छ ।
वडा नम्बर ८ की जोबना शाहीले जातीय छुवाछुतका कारण दलित समुदायमाथि विभेद हुने गरेको बताउँदै सोसेक नेपालले दलित र गैरदलितलाई एकै कार्यक्रममा सहभागी गराएर समाज परिवर्तनको महत्वपूर्ण काम गरेको बताइन् । “सबै मानिस बराबर हुन्, सबैको रगत रातै हुन्छ भन्ने बुझाइ आयो,” उनले भनिन्। साथै जातीय विभेद गरे कानुनी सजाय हुने विषयमा पनि जनचेतना बढेको बताइन्।
नानी सार्कीले जातीय विभेद सम्बन्धी कार्यक्रमबाट आफूहरूलाई कानुनी जानकारी प्राप्त भएको र अहिले दलित समुदायका मानिसहरू एक–अर्काको घरमा गएर सँगै खान सक्ने वातावरण बनेको बताइन् ।
यसैगरी तुलसी रोकायाले आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकालाई सोसेक नेपालले शैक्षिक सामग्री वितरण गरेर महत्वपूर्ण सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गरिन्। अझै पनि जोखिममा रहेका बालबालिका रहेकाले आगामी दिनमा थप सहयोगको अपेक्षा रहेको उनले बताइन्।
त्यस्तै काली रावलले महिलाहरू ज्याला मजदुरी गरेर मात्र घरखर्च चलाउन बाध्य भएको उल्लेख गर्दै महिलाहरूका लागि सीपमूलक तालिम, सिलाइ–कटाइ, तरकारी खेतीका बीउ र प्लास्टिक जस्ता सामग्री उपलब्ध गराइए आत्मनिर्भर बन्न सकिने बताइन्। साथै समुदायमा बालविवाह, कार्यबोझ विश्लेषण तथा महिला कानुनी अधिकार सम्बन्धी परिस्कृत जनचेतनामूलक कार्यक्रमको आवश्यकता रहेकोमा जोड दिइन्।
फलोअप कार्यक्रममा सहभागीहरूले सोसेक नेपालका कार्यक्रमहरूले सामाजिक कुरीति, अन्धविश्वास, हिंसा र विभेद न्यूनीकरणमा उल्लेखनीय योगदान पुर्याएको निष्कर्ष निकाल्दै आगामी आर्थिक वर्षमा अझ लक्षित र दिगो कार्यक्रम आवश्यक रहेको बताएका छन्।
प्रतिक्रिया