चप्पलले दिएको आत्मबल, आत्मनिर्भरतातर्फ बिरेन्द्रनगर–१ का महिलाहरू

चप्पलले दिएको आत्मबल, आत्मनिर्भरतातर्फ बिरेन्द्रनगर–१ का महिलाहरू

सुर्खेत -  सुर्खेतको बिरेन्द्रनगर नगरपालिका वडा नं -१ स्थित श्री बागेंसिमल सामुदायिक सिकाइ केन्द्रमा केही समयअघि सञ्चालन गरिएको ७ दिने चप्पल बनाउने तालिमले यहाँका महिलाहरूको जीवनमा नयाँ आशा र आत्मविश्वास थपिदिएको छ।

एईआइएन लक्जेम्बर्गको साझेदारी तथा बिरेन्द्रनगर नगरपालिकाको समन्वयमा सोसेक नेपालद्वारा सञ्चालित बिहानी परियोजनाको सहजिकरणमा २०८२ साल ०८ महिना २५ गतेदेखि सुरु भएको उक्त तालिमको मुख्य उद्देश्य महिलालाई स्वरोजगारतर्फ उन्मुख गराउँदै आर्थिक रूपमा आत्मनिर्भर बनाउनु रहेको थियो ।

तालिममा सहभागी महिलाहरूलाई चप्पल निर्माणसम्बन्धी व्यवहारिक सिप सिकाइएको थियो । कच्चा पदार्थ छनोटदेखि लिएर डिजाइन, काट्ने, जोड्ने र तयार चप्पल उत्पादनसम्मका सीपहरू व्यवहारिक अभ्यासमार्फत प्रदान गरियो। तालिम अवधिभर महिलाहरूले उत्साहका साथ सहभागिता जनाएका थिए ।

तालिम सम्पन्न भएपछि गरिएको फलोअप अनुगमनका क्रममा तालिमले अपेक्षाभन्दा बढी सकारात्मक प्रभाव पारेको देखिएको बिहानी परियोजनाले जनाएको छ । विशेषगरी सहभागी महिलाहरूको आत्मविश्वास र कामप्रतिको लगाव उल्लेखनीय रूपमा बढेको पाइएको छ।

तालिम सहभागी चित्रा विश्वकर्माको अनुभवले तालिमको प्रभाव स्पष्ट देखाउँछ। उनी भन्छिन्, “७ दिने चप्पल बनाउने तालिम लिएपछि मैले आफैँ थप दुई दिन अभ्यास गरेर नयाँ डिजाइनका चप्पल बनाउन सिकेँ। यस क्रममा प्रशिक्षकले धेरै नै सहयोग गर्नुभयो। अहिले म नियमित रूपमा चप्पल बनाउन थालेकी छु। अब यही कामबाट आफ्नो जीविकोपार्जन गर्न सक्छु भन्ने आत्मबल बढेको छ।”

पहिले घरायसी काममै सीमित जीवन बिताउँदै आएकी चित्रा जस्तै अन्य महिलाहरू पनि अब आफ्नै सीपमा भरोसा गर्न थालेका छन्। उनीहरूका लागि चप्पल बनाउने सीप केवल तालिमको विषय मात्र नभई आत्मसम्मान र भविष्यको आधार बनेको छ।

स्थानीय तह, साझेदार संस्था र समुदायको सहकार्यमा सञ्चालन गरिएका यस्ता सिपमूलक तालिमहरूले महिलाको जीवनस्तर सुधारमा मात्र होइन, समग्र समुदायमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको बिहानी परियोजनाले जनाएको छ ।

प्रतिक्रिया