१० दिने रूपान्तरण सीप तथा आत्मरक्षा प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन

१० दिने रूपान्तरण सीप तथा आत्मरक्षा प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन

दैलेख  : भगवतीमाई गाउँपालिकामा रूपान्तरण प्याकेज तथा आत्मरक्षा सम्बन्धी साथी सहजकर्ताहरूका लागि १० दिने प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालनमा आएको छ। विहीबार देखी भगवतीमाई गाउँपालिकामा सञ्चालित बाल समृद्धि र एकीकृत विकासका लागि हातेमालो परियोजनाको आयोजनामा तथा वर्ल्ड भिजन इन्टरनेसनल नेपालको सहयोगमा उक्त तालिम सञ्चालन गरिएको हो।

रूपान्तरण कक्षा सञ्चालनका लागि भगवतीमाइ गाउँपालिका वडा नम्बर ३ र ६ का ६र६ जना गरी जम्मा १२ जना साथी शिक्षकहरूका लागि होटल पार्किङ, दैलेखमा तालिम सञ्चालन भइरहेको छ। तालिमको उद्घाटन सत्रमा बोल्दै सोसेक नेपाल दैलेखका कार्यकारी निर्देशक हीरासिह थापाले रूपान्तरण हुनका लागि सबैभन्दा पहिला व्यक्ति स्वयं रूपान्तरित हुन आवश्यक रहेको उल्लेख गरे । उनले व्यक्ति रूपान्तरित भएपछि मात्र समुदायलाई सकारात्मक दिशामा रूपान्तरण गर्न सकिने बताए ।

त्यस्तै, उनले सोसेक नेपालको विभिन्न नीति तथा अभ्यासहरू अवलम्बन गर्दै समुदायमा बालबालिकाको समृद्धिका लागि सबै सरोकारवाला एकजुट भएर लाग्नुपर्ने आवश्यकता औंल्याए ।

तालिममा भगवतीमाई गाउँपालिका वडा नम्बर ३ का ६ जना र वडा नम्बर ६ का ६ जना गरी जम्मा १२ जनाको सहभागिता रहेको छ। १० दिनसम्म सञ्चालन हुने उक्त तालिमको सहजीकरण बिन्जू बराल र मनदीप सुरीले गरेका छन ।

सोसेक नेपालको एसओपी तथा आइपिएफ परियोजनाका शिक्षा अधिकृत जनक प्रसाद अधिकारीले तालिमपछि सहभागी सहजकर्ताहरूले रूपान्तरण सीप तथा आत्मरक्षा सम्बन्धी ज्ञान र सीप हासिल गरी समुदायका किशोर–किशोरीहरूका लागि प्रभावकारी सहजीकरण गर्ने बताए । उनले यस तालिमले समुदायमा बालबालिकाको संरक्षण, सशक्तीकरण र समग्र विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया