बालबालिकाको क्षमता विकासका लागि भगवतीमाई गाउँपालिकामा तीनदिने तालिम सुरु

बालबालिकाको क्षमता विकासका लागि भगवतीमाई गाउँपालिकामा तीनदिने तालिम सुरु

दैलेख : भगवतीमाई गाउँपालिकामा बाल संरक्षण प्रवर्द्धन तथा वातावरणमैत्री व्यवहारसम्बन्धी बाल सञ्जालका पदाधिकारीहरूका लागि तीनदिने क्षमता विकास तालिम सुरु भएको छ। शुक्रबार वर्ल्ड भिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोग , सोसेक नेपालको आयोजना र भगवतीमाई गाउँपालिकाको सहकार्यमा तीनदिने क्षमता विकास तालिम सुरु भएको हो ।  

तालिममा प्रत्येक वडा बाल सञ्जालबाट ३ / ३ जना तथा पालिकास्तरीय बाल सञ्जालबाट गरी २४ जना बालबालिकाको सहभागिता रहेको थियो । तालिममा बाल संरक्षण, बाल अधिकार, बालक्लबको अवधारणा, कार्यात्मक बाल सञ्जालका सूचक, महिनावारी स्वच्छता, यौन तथा प्रजनन स्वास्थ्य अधिकार, वातावरणमैत्री व्यवहार, अनलाइन जोखिम तथा त्यसबाट बच्ने उपाय, बालविवाहका कारण र असर तथा त्यसबाट बच्ने उपायलगायत विषयमा अभिमुखीकरण गरिनेछ। साथै बाल सञ्जालको आगामी तीन महिनाको कार्ययोजना समेत तयार गरिनेछ।

तालिमको उद्घाटन सत्रमा बोल्दै गाउँपालिकाका उपाध्यक्ष मिना खड्काले तालिममा सिकेका कुराहरू व्यवहारमा उतार्दै समुदायमा सकारात्मक परिवर्तन ल्याउन  सक्रिय हुनुपर्ने बताइन । त्यस्तै   निमित्त प्रमुख प्रशासकीय अधिकृत लोकराज जोशीले बालमैत्री व्यवहार, वातावरणीय प्रभाव, सामाजिक विभेद, लागू पदार्थ दुर्व्यसन तथा बालहिंसा न्यूनीकरणमा यस्ता तालिमले बालबालिकाको क्षमता विकासमा सहयोग पुग्ने बताए।

तालिमको सहजीकरण सोसेक नेपालको बाल समृद्धि तथा एकीकृत विकासका लागि हातेमालो परियोजनाअन्तर्गत परियोजना अधिकृत दुर्गा रिमाल र शिक्षा अधिकृत जनक अधिकारीले गरेका छन । माघ २ गतेदेखि सुरु भएको उक्त तालिम  माघ ४ गतेसम्म सञ्चालन हुने छ ।

प्रतिक्रिया