चन्दननाथ –५ मा कार्यक्रमको फलोअप, आगामी वर्षका प्राथमिकतामाथि छलफल
जुम्ला - जुम्लाको चन्दननाथ नगरपालिका–५ मा सोसेक नेपालद्वारा सञ्चालित बिहानी परियोजना अन्तर्गत यसअघि सम्पन्न कार्यक्रमहरूको फलोअप तथा आगामी आर्थिक वर्षमा सञ्चालन गर्न सकिने कार्यक्रमबारे छलफल गरिएको छ।
माघ ४ गते गरिएको उक्त फलोअप कार्यक्रममा समुदायमा पहिले नै सञ्चालन भएका जनचेतनामूलक गतिविधिहरूले ल्याएको परिवर्तनको समीक्षा गर्नुका साथै अब के–कस्ता कार्यक्रम प्रभावकारी हुन्छन् भन्ने विषयमा सहभागीहरूबीच खुला छलफल गरिएको बिहानी परियोजनाले जनाएको छ ।
कार्यक्रममा वडा नम्बर ५ की उर्मिला सुनारले समुदायमा पहिलादेखि रहेको जातीय विभेद, बालविवाह र छाउपडीजस्ता कुरीतिहरू विभिन्न संस्थाका पहलबाट केही हदसम्म कम हुँदै आएको बताइन् । उनका अनुसार सोसेक नेपालले सञ्चालन गरेका निरन्तर जनचेतनामूलक कार्यक्रमपछि छाउपडी प्रथा, बालविवाह र जातीय विभेदमा पहिलाको तुलनामा उल्लेख्य सुधार आएको छ।
त्यस्तै मायादेवी सुनारले समुदायमा घरेलु हिंसाको समस्या गम्भीर बन्दै गएको बताउँदै पुरुषहरू धूम्रपान तथा मद्यपान सेवन गरी आएर महिलामाथि शारीरिक तथा मानसिक हिंसा गर्ने, घरायसी झगडा दिनानुदिन बढ्दै गएको गुनासो गरिन्। उनले सोसेक नेपाललाई आगामी दिनमा घरेलु हिंसा नियन्त्रण तथा न्यूनीकरण सम्बन्धी लक्षित कार्यक्रम सञ्चालन गर्न आग्रह गरिन् ।
कार्यक्रममा सहभागी सीमा सुनारले समुदायमा लागू पदार्थ दुर्व्यसनको समस्या तीव्र रूपमा बढ्दै गएको उल्लेख गरिन् । उनले बालबालिका र अभिभावकलाई एकसाथ सहभागी गराई लागू पदार्थ दुर्व्यसनको असर, रोकथाम र कानुनी पक्षबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याइन् । यस्ता कार्यक्रमले बालबालिकामा चेतना फैलिनुका साथै अभिभावकले आफ्ना सन्तानलाई सही मार्गदर्शन गर्न सहयोग पुग्ने उनको धारणा थियो।
छलफलको निष्कर्षमा सहभागीहरूले आगामी आर्थिक वर्षमा घरेलु हिंसा नियन्त्रण, लागू पदार्थ दुर्व्यसन रोकथाम, बालविवाह अन्त्य र सामाजिक विभेद न्यूनीकरणजस्ता विषयलाई केन्द्रमा राखी कार्यक्रम सञ्चालन गर्न सके समुदायमा सकारात्मक र दीर्घकालीन परिवर्तन आउने विश्वास व्यक्त गरेका छन्।
प्रतिक्रिया