दैलेख–१ र २ मा बहुपक्षीय भिडन्त, कांग्रेस १० वर्षपछि आफ्नै उम्मेदवारसहित मैदानमा
दैलेख - फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा दैलेखका दुवै निर्वाचन क्षेत्र, क्षेत्र नम्बर १ र २ मा चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ । दुवै क्षेत्रमा कांग्रेस, एमाले, नेकपा र रास्वपाबीच बहुपक्षीय भिडन्त हुने देखिएको छ ।
दैलेख क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेसले पुनः दीक्पालकुमार शाहीलाई उम्मेदवार बनाएको छ । ०७९ को निर्वाचनमा माओवादी र एकीकृत समाजवादीको समर्थनमा उम्मेदवार बनेका शाही २० हजार १८३ मतसहित झिनो मतान्तरले विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी एमालेका लक्ष्मीप्रसाद पोखरेलले २० हजार १६ मत ल्याएका थिए ।
एमालेबाट पुनः लक्ष्मीप्रसाद पोखरेल नै उम्मेदवार बनेका छन् । ०७० सालको संविधान सभा निर्वाचन जितिसकेका पोखरेल गुमेको एमाले जनमत फर्काउने अभियानमा छन् । यस क्षेत्रमा एमालेको परम्परागत प्रभाव रहँदै आएको छ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट योगेन्द्रबहादुर शाही उम्मेदवार बनेका छन् । ०७९ मा प्रदेश सभा चुनावमा पराजित भए पनि पूर्व कर्णाली प्रदेश योजना आयोग उपाध्यक्ष शाही बौद्धिक नेता मानिन्छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपाल विद्युत् उत्पादन कम्पनीका पूर्व कार्यकारी प्रमुख बखतबहादुर शाहीलाई उम्मेदवार बनाएको छ । यसले दैलेख–२ को प्रतिस्पर्धा चारपक्षीय बनेको छ । यता दैलेख क्षेत्र नम्बर–१ मा कांग्रेसले १० वर्षपछि आफ्नै चुनाव चिन्हमा उम्मेदवार उठाएको छ । कांग्रेसबाट युवा महिला नेतृ बासना थापा उम्मेदवार बनेकी छन् । संघीयतापछि ०७४ र ०७९ का प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले गठबन्धनका कारण यहाँ उम्मेदवार उठाउन पाएको थिएन ।
०७९ मा समाजवादीका अम्मरबहादुर थापाले १८ हजार २९७ मतसहित चुनाव जितेका थिए । एमालेका रविन्द्रराज शर्माले १७ हजार ४४५ मत पाएका थिए । यसअघि ०७४ मा शर्माले २३ हजार ७७३ मत ल्याएर प्रतिनिधि सभा जितेका थिए ।
यसपटक एमालेबाट पुनः रविन्द्रराज शर्मा उम्मेदवार बनेका छन् भने नेकपाबाट अम्मरबहादुर थापाले नै टिकट पाएका छन् । दुवै नेता परीक्षण भइसकेका मानिन्छन् । रास्वपाले एनके बस्नेतलाई उम्मेदवार बनाएको छ, जो केही समयअघिसम्म एमालेमै सक्रिय थिए ।
नेविसंघबाट राजनीति सुरु गरेकी बासना थापा ०७४ मा नारायण नगरपालिकाको उपप्रमुखमा पराजित भएकी थिइन् । कांग्रेस महाधिवेशन प्रतिनिधि रहिसकेकी थापाले पुराना नेताहरूसँग प्रतिस्पर्धा गर्नेछिन् ।
सदरमुकामसमेत पर्ने दैलेख–१ र राजनीतिक रूपमा संवेदनशील मानिने दैलेख–२ दुवै क्षेत्रमा बहुपक्षीय प्रतिस्पर्धाले चुनावी परिणामलाई खुला बनाएको स्थानीय नेताहरूको विश्लेषण छ ।
प्रतिक्रिया