दैलेखमा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता सम्पन्न

दैलेखमा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता सम्पन्न

दैलेख : फागुन २१ गते हुने प्रतिनिधिसभा  निर्वाचन अन्तर्गत दैलेख जिल्लाका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवारहरूको मनोनयन दर्ता सम्पन्न भएको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म तोकिएको समयभित्र राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता गराएका हुन्।

प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ मा विभिन्न दल र स्वतन्त्र गरी १० जनाको मनोनयन दर्ता भएको छ। मनोनयन दर्ता गराउने उम्मेदवारहरूमा नेपाली कम्युनिस्ट पार्टीबाट अम्मर बहादुर थापा, नेपाल मजदुर किसान पार्टीबाट जगत बहादुर ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा )बाट नन्द किशोर बस्नेत, राष्ट्रिय जनमोर्चाबाट नर बहादुर सिंह, नेपाली कांग्रेसबाट बासना थापा, आम जनता पार्टीबाट मेनका श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टी  (राप्रपा ) बाट रण बहादुर सिंह, नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट रबिन्द्र राज शर्मा, नेपाल कम्युनिस्ट पार्टी ( माओवादी )बाट रामलाल विश्वकर्मा तथा स्वतन्त्र उम्मेदवारका रूपमा लोग बहादुर बोगटी रहेका छन्।

यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा पनि विभिन्न दलका साथै स्वतन्त्र उम्मेदवारहरूको मनोनयन दर्ता भएको छ। एमालेबाट लक्ष्मी पोखरेल, नेपाली कांग्रेसबाट दिक्पाल शाही, नेपाल कम्युनिस्ट पार्टी माओवादी ( विप्लव)बाट कलम सिंह तथा स्वतन्त्र उम्मेदवारका रूपमा लाल बहादुर कठायतले मनोनयन दर्ता गराएका छन  । त्यसैगरी नेकपा माओवादी केन्द्रबाट योगेन्द्र शाही, राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा ) बाट बखत बहादुर शाही, नेपाल मजदुर किसान पार्टीबाट बखत थापा र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट  वविता कुमारी शाहीले पनि मनोनयन दर्ता गरिसकेका छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरूका लागि अलग–अलग समय निर्धारण गरिएको थियो। सोही तालिका अनुसार शान्तिपूर्ण रूपमा मनोनयन दर्ता प्रक्रिया सम्पन्न भएको कार्यालयले जनाएको छ।

मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेले जिल्लामा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन सबै राजनीतिक दल, उम्मेदवार र सरोकारवालाको सहयोग आवश्यक रहेको बताए । उनले भने , “निर्वाचनलाई स्वतन्त्र, शान्तिपूर्ण, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गर्न सबै राजनीतिक दल तथा उम्मेदवारको सक्रिय सहयोग आवश्यक छ।”

दैलेखमा मनोनयन दर्ता प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएसँगै अब आगामी निर्वाचनको सरगर्मी बढ्दै गएको छ।

प्रतिक्रिया