बिहानीले चन्दननाथका समुदायमा ल्याउँदै सकारात्मक परिवर्तन

बिहानीले चन्दननाथका समुदायमा ल्याउँदै सकारात्मक परिवर्तन

जुम्ला -  जम्लाको चन्दननाथ नगरपालिकामा सोसेक नेपालद्वारा सञ्चालित बिहानी परियोजना अन्तर्गत विगतमा गरिएका विभिन्न कार्यक्रमहरूले समुदायमा उल्लेखनीय सकारात्मक परिवर्तन ल्याएको निष्कर्ष निकालिएको छ।

एईआइएन लक्जेम्बर्गको साझेदारी चन्दननाथ नगरपालिकाको समन्वय सोसेक नेपालद्वारा संचालित बिहानी परियोजनाको सहजीकरणमा चन्दननाथका समुदायमा परिर्वतन ल्याएको हो । आउँदो आर्थिक वर्षमा थप प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने विषयमा सरोकारवालाबीच छलफल गरिएको बहानी परियोजनाले जनाएको छ ।

छलफलका क्रममा वडा नम्बर ४ की महिला सदस्य पञ्चकला सुनारले समुदायमा बालविवाह, छाउपडी प्रथा र घरेलु हिंसाजस्ता सामाजिक विकृति पहिलेको तुलनामा धेरै कम हुँदै गएको बताइन् । “सोसेक नेपालले निरन्तर जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेपछि हाम्रो समुदायमा ठूलो परिवर्तन आएको छ,” उनले भनिन्। यद्यपि, अझै पनि घरेलु हिंसा र लागू पदार्थ दुरुपयोग सम्बन्धी जनचेतनामूलक कार्यक्रमको आवश्यकता रहेको उनले औंल्याइन् ।

त्यसैगरी वडा नम्बर ४ की रम्बा सार्कीले सोसेक नेपालले विगतदेखि नै कृषि सम्बन्धी तालिम र बिउ वितरण गर्दै आएको बताउँदै बेमौसमी तरकारी खेतीका लागि आवश्यक पूर्वाधारको माग गरिन्। “हामीलाई प्लास्टिक टनेल (पाल) को व्यवस्था भएमा बेमौसमी तरकारी खेतीबाट आम्दानी बढाउन सकिन्थ्यो,” उनले भनिन् ।

वडा नम्बर ४ की कल्पना नेपालीले समुदायमा लागू पदार्थ दुर्व्यसनको समस्या बढ्दो क्रममा रहेको बताइन् । “लागू पदार्थ दुर्व्यसनका कारण बाहिर शौचालय भएकाहरू रातिको समयमा बाहिर निस्कनसमेत डराउने अवस्था छ,” उनले भनिन् । बालबालिका र अभिभावकलाई समेटेर जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सके समुदायमा सुधार आउन सक्ने उनको धारणा छ।

छलफलमा सहभागीहरूले बिहानी परियोजनाले समुदायमा ल्याएको सकारात्मक परिवर्तनलाई अझ दिगो बनाउन सामाजिक सचेतना, घरेलु हिंसा न्यूनीकरण, लागू पदार्थ दुरुपयोग नियन्त्रण र कृषि उत्पादन प्रवर्द्धनमा केन्द्रित कार्यक्रमहरू आगामी आर्थिक वर्षमा प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएका छन्।

प्रतिक्रिया