बङ्गुर पालनमार्फत भविसरा सार्की आत्मनिर्भर बन्दै
दैलेख : सीमित आम्दानी र पारिवारिक जिम्मेवारीका बीच नारायण नगरपालिका–३, दैलेखकी भविसरा सार्की बङ्गुर पालन व्यवसायमार्फत आत्मनिर्भर बन्न सफल भएकी छन्। सोसेक नेपालद्वारा सञ्चालित सशक्त महिला, समृद्ध नेपाल (ईडव्लुपीएन) कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको परिवार संवाद कार्यक्रम मा नियमित सहभागिताले उनको जीवनमा सकारात्मक मोड ल्याएको हो।
तीन छोरी र श्रीमानसहितको परिवारको दायित्व बोकेकी सार्कीको घरमा आफ्नै खेतीपातीबाट वर्षमा करिब तीन महिना मात्रै खान पुग्ने अवस्था थियो। बाँकी समय परिवारको जीविकोपार्जनका लागि उहाँका श्रीमान ज्याला मजदुरीमा निर्भर रहँदै आएकी थिइन । सीमित आम्दानी र बढ्दो खर्चले परिवारको दैनिकी चुनौतीपूर्ण बन्दै गएको थियो।
यही अवस्थामा परिवार संवाद कार्यक्रममा सहभागी हुन आउँदा लाग्ने यातायात खर्चबापत सोसेक नेपालले उपलब्ध गराएको २२ हजार रुपैयाँलाई सदुपयोग गर्दै भविसरा सार्कीले दुई वटा बङ्गुर खरिद गरी पालन व्यवसाय सुरु गरीन्। सानो देखिने यो सहयोगले उनको जीवनमा ठूलो आत्मविश्वास र नयाँ आशा थपेको छ।
कुनै पनि औपचारिक वा अनौपचारिक शिक्षा नलिएकी सार्कीले हाल आफ्नै नाममा बैंक खाता सञ्चालन गर्दै बैंकिङ कारोबारसमेत गर्न थालेकी छन । यसले उनको आर्थिक सशक्तीकरणमा थप टेवा पुर्याएको छ।
निरन्तर मेहनत र लगनशीलताका कारण बङ्गुर पालन व्यवसाय हाल परिवारको आम्दानी बढाउने महत्वपूर्ण आधार बनेको छ। यसबाट दैनिक खर्च धान्न सहज हुनुका साथै भविष्यप्रति उनका सपना अझै बलिया बन्दै गएका छन्।
भविसरा सार्कीको सफलताले अवसर र सही मार्गदर्शन पाए महिलाहरू आफ्नै खुट्टामा उभिन सक्ने सन्देश दिएको सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले बताए । उनका अनुसार (ईडव्लुपीएन) कार्यक्रममार्फत सोसेक नेपालले महिला सशक्तीकरण र दिगो जीविकोपार्जनमा समुदायस्तरमा सकारात्मक प्रभाव पारिरहेको छ ।
प्रतिक्रिया