१६५ क्षेत्रमा ३ हजार ४८४ जनाको उम्मेदवारी, आज उजुरी दिन सकिने

१६५ क्षेत्रमा ३ हजार ४८४ जनाको उम्मेदवारी, आज उजुरी दिन सकिने

काठमाण्डौ : प्रतिनिधिसभा सदस्यका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा कूल ३ हजार ४८४ जनाको उम्मेदवारी परेको छ। निर्वाचन आयोगका अनुसार ६८ राजनीतिक दलका तर्फबाट २ हजार २९७ जना र स्वतन्त्रतर्फ १ हजार १८७ जनाले उम्मेदवारी दर्ता गराएका हुन्।

कूल उम्मेदवारमध्ये ३ हजार ८८ जना पुरुष, ३९५ जना महिला र अन्य समूहबाट १ जना रहेको आयोगले जनाएको छ। मनोनयन दर्ता भएका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने व्यवस्था गरिएको छ।

निर्वाचन आयोगले तय गरेको निर्वाचन कार्यक्रमअनुसार आज उजुरी संकलनपछि भोलि बेलुका ५ बजेसम्म मनोनयनपत्र तथा उजुरीमाथि जाँचबुझ गरी आवश्यक निर्णयसहित उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। उजुरी तथा उम्मेदवारी फिर्तापछि उम्मेदवारको सङ्ख्या केही घट्न सक्ने आयोगले जनाएको छ।

आयोगका अनुसार माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ। त्यसै दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ भने दिउँसो ४ बजेदेखि बेलुका ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर उत्साहजनक र शान्तिपूर्ण रूपमा मनोनयन प्रक्रिया सम्पन्न भएको बताए । उनले निर्वाचनका बाँकी कार्यक्रमहरू पनि सबै राजनीतिक दल तथा सरोकारवालाको सहयोगमा सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गरेका छन ।

प्रतिक्रिया