सोसेक नेपालको सहयोगले आत्मनिर्भर बन्दै गिता शाही
दैलेख : सोसेक नेपालद्वारा सञ्चालित सशक्त महिला, समृद्ध नेपाल (ईडव्लुपीएन ) कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको परिवार संवाद कार्यक्रम ले दैलेखकी एक महिलाको जीवनमा सकारात्मक परिवर्तन ल्याएको छ। नारायण नगरपालिका–३, कालिमाटी, दैलेखकी गिता शाही (ढकाल) सो कार्यक्रमबाट प्राप्त सानो सहयोग र प्रेरणाका कारण आज आत्मनिर्भर महिलाका रूपमा अगाडि बढेकी छन् ।
परिवार संवाद कार्यक्रममा सहभागी हुनका लागि प्रदान गरिएको सानो यातायात खर्च सहयोगले गितालाई कार्यक्रममा सहभागिता जनाउने अवसर मात्र दिएन, आफ्नै क्षमता र सम्भावनालाई चिन्ने बाटो पनि खोलिदियो । कार्यक्रमबाट प्राप्त ज्ञान, आत्मविश्वास र हौसलाले उनलाई बाख्रा पालन व्यवसाय सुरु गर्न उत्प्रेरित गर्यो ।

सुरुवातमा सानो स्तरबाट सुरु गरिएको बाख्रा पालन व्यवसाय हाल परिवारको आम्दानीको महत्वपूर्ण स्रोत बनेको छ। यसले परिवारको आर्थिक अवस्थामा सुधार ल्याउनुका साथै गिताको आत्मविश्वास र पारिवारिक निर्णय प्रक्रियामा भूमिका समेत सुदृढ बनाएको छ ।
गीता शाहीका अनुसार महिलालाई सानो सहयोग र सही अवसर प्रदान गर्न सकियो भने उनीहरूले आत्मनिर्भर बन्न सक्ने सम्भावना उच्च हुन्छ। “ याे कार्यक्रमले मलाई नयाँ सोच र आत्मबल दियो,” उनी भन्छिन्।
सोसेक नेपालद्वारा सञ्चालित (ईडव्लुपीएन ) कार्यक्रमले महिलाको सशक्तिकरण, पारिवारिक संवाद र आर्थिक आत्मनिर्भरतामा जोड दिँदै समुदायस्तरमा सकारात्मक परिवर्तन ल्याउँदै आएको छ। गिता शाहीको अनुभव यस कार्यक्रमको प्रभावकारिताको उदाहरण बनेको छ।
प्रतिक्रिया