सानो सहयोगबाट, ठूलो सपना बोकेकी कोटथाप्लाकी पुकुली

सानो सहयोगबाट, ठूलो सपना बोकेकी कोटथाप्लाकी पुकुली

दैलेख - सानो सहयोगले पनि ठूलो सपना साकार हुन सक्छ भन्ने उदाहरण बनेकी छन् नारायण नगरपालिका-२, कोटथाप्लाकी पुकुली सार्की ।

सोसेक नेपालद्वारा सञ्चालित सशक्त महिला, समृद्ध नेपाल  कार्यक्रमअन्तर्गतको परिवार संवाद कार्यक्रमबाट प्राप्त आर्थिक सहयोगपछि उनी आत्मनिर्भरतातर्फको यात्रामा अघि बढ्न सफल भएकी छिन् ।

घरपरिवारको दैनिकी धान्न कठिनाइ झेलिरहेकी पुकुलीले प्राप्त सहयोगलाई अवसरका रूपमा लिएर तरकारी खेती सुरु गरिन् । सीमित स्रोतसाधन हुँदाहुँदै पनि उनले लगनशीलताका साथ खेती विस्तार गर्दै हाल स्थानीय बजारमा ताजा तरकारी बिक्री गर्न थालेकी छन् । यसले उनको आम्दानी बढाउनुका साथै आत्मविश्वास पनि मजबुत बनाएको छ।

“अवसर र साथ मिले महिलाले गाउँमै केही गर्न सक्छन्,” पुकुली भन्छिन्, “अब आफ्नो मेहनतले परिवार चलाउन सक्छु भन्ने विश्वास बढेको छ।”

सशक्त महिला, समृद्ध नेपाल कार्यक्रममार्फत गरिएको सानो लगानीले महिलाको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सकिने सन्देश यो सफलताले दिएको छ। सशक्त महिला नै समृद्ध नेपालको आधार भन्ने नारालाई पुकुली सार्कीको यात्राले व्यवहारमा उतारेको छ।

प्रतिक्रिया