स्याला गाउँमा बिहानीको समीक्षा, सीपमूलक तालिमको माग

स्याला गाउँमा बिहानीको समीक्षा, सीपमूलक तालिमको माग

जुम्ला -  जुम्लाको चन्दननाथ नगरपालिका वडा नं ८ अन्तर्गत स्याला गाउँमा संचालन गरिएको बिहानी परियोजनाको समिक्षा गरिएको छ । एईआइएन लक्जेम्बर्गको साझेदारी चन्दननाथ नगरपालिकाको समन्वय सोसेक नेपालद्वारा संचालित  ‘बिहानी परियोजना’ अन्तर्गत सञ्चालन गरिएका कार्यक्रमले समाजमा पारेको प्रभाव र आगामी आर्थिक वर्षमा सञ्चालन गर्नुपर्ने कार्यक्रमबारे समुदायस्तरीय छलफल गरिएको हो ।

छलफलका क्रममा समुदायका अगुवाहरूले हालसम्म भएका कार्यक्रमले केही सकारात्मक परिवर्तन देखिए पनि अझै पनि गम्भीर सामाजिक समस्याहरू यथावत् रहेको जनाएका छन्।

वडा नं ८ की राजा कन्या रोकायाले समुदायमा सोसेक नेपालले हालसम्म सुरक्षित मातृत्वसम्बन्धी मात्रै कार्यक्रम गरेको उल्लेख गर्दै आगामी आर्थिक वर्षमा छाउपडी प्रथा र बालविवाह अन्त्यसम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्न आग्रह गरिन् । “यी समस्या हाम्रो समुदायमा अझै गहिरो रुपमा रहेकोले लक्षित कार्यक्रम आवश्यक छ,” उनको भनाइ थियो।

त्यस्तै वडा नं ८ कै माया रानाले केही महिलाहरू तरकारी खेतीमार्फत जेनतेन घरखर्च धान्दै आएको भए पनि धेरै महिलाहरू अझै बेरोजगार अवस्थामा रहेको बताइन् । विशेष गरी २३–२४ वर्ष उमेर समूहका महिलाहरूले सीपमूलक तालिम पाए आत्मनिर्भर बन्न सकिने धारणा राख्दै सिलाई–कटाईजस्ता तालिमको आवश्यकता औँल्याइन् ।

समुदायमा धूम्रपान, मद्यपान तथा लागूऔषधको समस्या न्यून रहेको भए पनि छाउपडी प्रथा अझै सात दिनसम्म कडाइका साथ पालना हुने अवस्था रहेको वडा नं ८ की भरना रोकायाले बताइन् । “कतिपय महिलाहरू अझै पनि महिनावारीका बेला गाईको गोठमै सुत्न बाध्य छन्,” उनले भनिन्। यसका साथै उहाँले छाउपडी र घरेलु हिंसाविरुद्ध सचेतनामूलक कार्यक्रमको आवश्यकता औँल्याइन् ।

छलफलमा सहभागीहरूले सोसेक नेपाललाई आगामी आर्थिक वर्षमा समुदायको वास्तविक आवश्यकतालाई मध्यनजर गर्दै महिनावारी विभेद अन्त्य, बालविवाह, घरेलु हिंसा अन्त्य तथा बेरोजगार महिलाका लागि सीपमूलक तालिम कार्यक्रमहरू सञ्चालन गर्न पुनः आग्रह गरेका छन्।

प्रतिक्रिया