भैरवी कृषि उपज प्रदर्शनी मेला सम्पन्न, १२ उत्कृष्ट किसान तथा समूह पुरस्कृत
दैलेख : “कृषि जैविक विविधता, हाम्रो अमूल्य सम्पदा संरक्षण, उपयोग र प्रवर्द्धनमा युवा सहभागिता” भन्ने मूल नाराका साथ भैरवी गाउँपालिकामा भैरवी कृषि जैविक विविधता तथा कृषि उपज प्रदर्शनी मेला–२०८२ सम्पन्न भएको छ।
एकदिने कृषि जैविक विविधता तथा कृषि उपज प्रदर्शनी मेला भैरवी गाउँपालिका दैलेखको आयोजनामा सोसेक नेपाल, हातेमालो सामुदायिक संस्था दैलेख, पर्यावरणीय कृषिका लागि पालिकास्तरीय युवा सञ्जाल भैरवीलगायतका साझेदार संस्थाहरूको सहकार्यमा प्रदर्शनी मेला बुधबार सम्पन्न भएको हो।
मेलामा पालिकामै उत्पादन भएका अर्गानिक कृषि उपज, रैथाने खाद्य परिकार, फलफूल, च्याउ, बिउविजनलगायतका कृषि सामग्रीहरूको प्रदर्शनी गरिएको आयोजकले जनाएको छ। स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरणमा जोड दिँदै मेला आयोजना गरिएको हो।

कार्यक्रमको उद्घाटन गर्दै भैरवी गाउँपालिकाका कार्यबाहक अध्यक्ष देवी भण्डारीले पुर्खाहरूले उत्पादन गर्दै आएका लोप हुन लागेका स्थानीय अर्गानिक खाद्य वस्तुहरूको संरक्षण अपरिहार्य रहेको बताइन्। स्थानीय उत्पादनको संकलन र व्यवस्थित बजारीकरण गर्न सके किसानको आयआर्जन बढ्ने उल्लेख गर्दै उनले पालिका र विभिन्न संस्थाबीचको समन्वयबाट आयआर्जनसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता जनाइन्।

सोसेक नेपालकी महासचिव ललिता भण्डारीले स्थानीय रैथाने बालीको संरक्षण र प्रवर्द्धनका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताउँदै विषादीरहित तरकारी उत्पादनमा जोड दिन आग्रह गरिन्। किसानको मनोबल उच्च राख्न किशोरी तथा महिला कृषकलाई पुरस्कृत गर्ने कार्यलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिइन्।

मेलाका अवसरमा उत्कृष्ट कृषि उत्पादन, जैविक विविधता संरक्षण तथा प्रवर्द्धन र उत्कृष्ट कृषि नवप्रवर्धन विधामा १२ जना उत्कृष्ट किसान, सहकारी तथा समूहलाई प्रमाणपत्रसहित पुरस्कृत गरिएको छ। उत्कृष्ट कृषि उत्पादनतर्फ सिता पौडेल,चित्रबहादुर खत्री, लालीगुराँस कृषि तथा पशुपन्छी फर्म, गगनबहादुर शाही जैविक विविधता संरक्षण तथा प्रवर्द्धनतर्फ उज्यालो साना किसान कृषि सहकारी संस्था,चगत्रा कृषि तथा पशुपन्छी सहकारी संस्था,भुपदेव कृषि फर्म,मष्टा बन्डाली कृषक समूह,उत्कृष्ट कृषि नवप्रवर्धनतर्फ सुभद्राको अचार पसल, जनसेवा स्वास्थ्य आमा समूह, ज्वाला कृषक समूह र भावना कृषि तथा पशुपन्छी फर्म पुरस्कृत भएको थियो ।
भैरवी गाउँपालिकाका कृषि अधिकृत पृतम थापा का अनुसार यस्ता मेला–प्रदर्शनीले स्थानीय उत्पादनको पहिचान, जैविक कृषिको प्रवर्द्धन र किसानको आत्मविश्वास अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।
_IN4TW8PaLp_ukcx3ka0hy9qbyitof2osynvxkwvvhxoteykd8v24wxhsk7biwuq0hbka3rc.jpeg)


प्रतिक्रिया