दुल्लू नगरपालिकामा अपांगता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण

दुल्लू नगरपालिकामा अपांगता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण

दैलेख : दुल्लू नगरपालिकामा अपांगता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण गरिएको छ । बिहीबार  अपांगता भएका व्यक्तिहरूले सम्मानजनक जीवनयापन गर्न सकून् र समतामूलक समाज निर्माणमा टेवा पुगोस भन्ने उद्देश्यले सिविएम ग्लोबल नेपालको आर्थिक सहयोग तथा दुल्लु नगरपालिका र सोसेक नेपालद्धारा सञ्चालित “हाम्रो आवाज, हाम्रो सहभागिता” हातेमालो परियोजनाले दुल्लुका १० जना  अपांगता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण गरिएको हो ।  

अपांगता भएका व्यक्तिहरूको दैनिकी सहज बनाउने उद्देश्यले आयोजित कार्यक्रममा प्रदान गरिएका सहायक सामग्रीले उनीहरूको आत्मनिर्भरता अभिवृद्धि गर्नुका साथै सामाजिक समावेशीकरण र जीवनस्तर सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै दुल्लू नगरपालिका नगरप्रमुख भरत रिजालले अपांगता भएका नागरिकहरूको हक, अधिकार संरक्षण तथा सशक्तीकरणका लागि यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

हातेमालो परियोजना र सोसेक नेपालले स्थानीय तहसँगको सहकार्यमा लक्षित समुदायको जीवनस्तर उकास्न निरन्तर सहयोग गर्दै आएको जनाएको छ। परियोजनाअन्तर्गत दुल्लू नगरपालिका, नारायण नगरपालिका, भैरवी गाउँपालिका र नौमुले गाउँपालिकामा कार्यक्रम सञ्चालन भइरहेको सोसेक नेपालले जानकारी दिएको छ।

प्रतिक्रिया