भगवतीमाईमा बाली उपचार शिविर सम्पन्न, कृषक उत्साहित

भगवतीमाईमा बाली उपचार शिविर सम्पन्न, कृषक उत्साहित

दैलेख : भगवतीमाई गाउँपालिकामा एकदिने बाली उपचार शिविर सम्पन्न भएको छ। नेपाल जीविकोपार्जन तथा उत्थानशीलता परियोजना  अन्तर्गत अष्ट्रेलियन एड र कारितास नेपालको आर्थिक सहयोगमा, भगवतीमाई गाउँपालिका दैलेखको समन्वय तथा सोसेक नेपालको आयोजनामा शिविर सञ्चालन गरिएको हो। जिल्लाको भगवतीमाई गाउँपालिका वडा नं। ६ चिपिनमा आयोजित शिविरमा ३५ जनाभन्दा बढी कृषकहरूको सहभागिता रहेको थियो। कृषकहरूले गहुँ, केराउ, बन्दा, काउली, टमाटर, सुन्तला, कागती, केरा, सिमी, रायो लगायतका बालीमा देखिएका रोग तथा किराको नमुना लिएर शिविरमा सहभागी भएका थिए।

शिविरमा सहभागी प्राविधिकहरूले कृषकहरूले ल्याएका नमुनाको आधारमा रोग–किराको पहिचान गर्दै तिनको व्यवस्थापनका उपायबारे व्यवहारिक जानकारी दिएका थिए। प्राविधिकहरूले निमजन्य जैविक विषादी, विभिन्न प्रकारका किरा ट्र्याप तथा प्राङ्गारिक कृषिमा प्रयोग हुने सुरक्षित विषादीको प्रयोग विधि सहज भाषामा बुझाएका थिए। यसले कृषकहरूलाई अनावश्यक रासायनिक विषादी प्रयोग नगरी सुरक्षित रूपमा बाली संरक्षण गर्न प्रेरित गरेको छ।

 

कार्यक्रममा एनएलआरपी परियोजनाका कार्यक्रम सहायक रवि लामिछानेले बाली उपचार शिविरको उद्देश्यबारे जानकारी दिँदै यस्ता कार्यक्रमहरूले धेरै कृषकलाई एउटै स्थानमा प्रत्यक्ष सेवा दिन सकिने बताए। उनका अनुसार, यसले कृषकसँगै स्थानीय तहलाई पनि सेवा प्रवाहमा सहयोग पुगेको छ भने परियोजना, पालिका र कृषकबीचको सहकार्य थप मजबुत हुँदै गएको छ।

शिविरमा बाली प्लान्ट डाक्टरको भूमिकामा भगवतीमाई गाउँपालिकाका कृषि अधिकृत लोकराज जोशी र कृषि प्राविधिक (पाँचौँ तह)टार्जन ओलीले कृषकहरूलाई बालीमा देखिने रोग–किरा, तिनको कारण र नियन्त्रणका उपायबारे परामर्श दिएका थिए।

पालिकाको तर्फबाट बोल्दै कृषि अधिकृत लोकराज जोशीले परियोजनाले स्थानीय कृषि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याएको बताए। उनले नयाँ प्रविधि र प्राङ्गारिक कृषिमा दिएको जोडका कारण भगवतीमाई गाउँपालिकाले यस्ता कार्यक्रमलाई प्राथमिकताका साथ सहयोग गर्दै आएको उल्लेख गरे। उनका अनुसार, बाली उपचार शिविरले कृषकको ज्ञान, सीप र आत्मविश्वास बढाउँदै सुरक्षित तथा दिगो कृषि प्रणालीतर्फ अघि बढ्न सहयोग गरिरहेको छ।

 

शिविरमा सहभागी कृषक पशुपति रोकायले बालीलाई पनि मानिसलाई जस्तै प्रत्यक्ष डाक्टर आवश्यक हुने अनुभूति भएको बताए। “खेतमै देखिएको समस्या यहीँ समाधान पाउँदा निकै सहज भयो। यस्ता शिविरहरू नियमित भए हामीलाई झनै फाइदा पुग्थ्यो,” उनले भने। स्थानीयस्तरमै प्राविधिक सेवा पाउँदा समय र खर्च दुवै बचत भएको भन्दै सहभागी कृषकहरूले यस्ता बाली उपचार शिविरलाई निरन्तरता दिन सम्बन्धित निकायसँग माग गरेका छन्।

प्रतिक्रिया