भैरवीका आमा समूहद्वारा सामाजिक सचेतना तथा आयआर्जन गतिविधि सञ्चालन

भैरवीका आमा समूहद्वारा सामाजिक सचेतना तथा आयआर्जन गतिविधि सञ्चालन

दैलेख -  दैलेखको भैरवी गाउँपालिका वडा नम्बर ५ मा गठित देउति बजै आमा समूहको नियमित बैठक सम्पन्न भएको छ । एईआइएन लक्जेम्बर्गको साझेदारी भैरवी गाउँपालिकाको समन्वय सोसेक नेपालद्वारा भैरवीमा संचालित आधार परियोजनाको सहजीकरणमा सम्पन्न बैठकमा मर्यादित महिनावारी, बालविवाह नियन्त्रण, घरेलु हिंसा न्यूनीकरण, सरसफाइ, पोषणयुक्त खानाको महत्वलगायत विषयमा छलफल गरिएको थियो ।

त्यसैगरी, समूहको आयआर्जन कार्यक्रमअन्तर्गत सदस्यहरूबाट रकम असुली गरी अर्को व्यक्तिलाई ऋण लगानी गर्ने निर्णयसमेत गरिएको छ । यसबाट महिलाहरूको आर्थिक सशक्तीकरण र आत्मनिर्भरता अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।

यसैबीच, भैरवी गाउँपालिका वडा नम्बर ३ मा गठित पहेलातिदु आमा समूहको बैठक पनि सम्पन्न भएको छ । बैठकमा शिशु तथा आमाको स्वास्थ्यसँग सम्बन्धित एकहजार दिनको महत्व, सुरक्षित पिउने पानी, सरसफाइ, मर्यादित महिनावारीलगायत विविध सामाजिक तथा स्वास्थ्यसम्बन्धी विषयमा जानकारी दिइनुका साथै छलफल गरिएको थियो ।

आमा समूहहरूको यस्ता गतिविधिले समुदायमा स्वास्थ्य सचेतना बढाउन, सामाजिक कुरीतिविरुद्ध आवाज उठाउन तथा महिलाहरूको सक्रिय सहभागिता र नेतृत्व विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको स्थानीयवासीले बताएका छन् ।

प्रतिक्रिया