गैसस महासंघको दुई दिने केन्द्रीय समिति बैठक सम्पन्न, १५ बुँदे प्रस्ताव पारित

गैसस महासंघको दुई दिने केन्द्रीय समिति बैठक सम्पन्न,  १५ बुँदे प्रस्ताव पारित

काठमाडौँ -   गैरसरकारी संस्था महासंघ नेपालले काठमाडौँमा दुई दिने केन्द्रीय समिति बैठक सम्पन्न गर्दै १५ बुँदे विशेष प्रस्ताव पारित गरेको छ।

आज सम्पन्न दुई दिने बैठकले देशको समसामयिक राजनीतिक अवस्था, लोकतन्त्र, संविधान, मानवअधिकार र आगामी निर्वाचनको सन्दर्भमा महत्वपूर्ण निर्णयहरू गर्दै सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको हो।

बैठकले २०८२ साल माघ २३ र २४ गते जे–एनजी (नव युवा) ले गरेको आन्दोलनका क्रममा मृत्यु भएका युवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ । साथै आन्दोलनका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामनासहित क्षतिपूर्ति र आवश्यक औषधि उपचारको व्यवस्था गर्न सरकारसँग जोडदार माग गरेको छ।

जे–एन–जी आन्दोलनपश्चात देशमा लोकतन्त्र, संविधान र शासन व्यवस्थामाथि गम्भीर संकट देखिएको वर्तमान अवस्थालाई ध्यानमा राख्दै आम निर्वाचनमार्फत संवैधानिक व्यवस्थाको संरक्षण आवश्यक रहेको महासंघको ठहर छ।

सोही सन्दर्भमा प्रतिनिधि सभाको निर्वाचन प्रक्रिया सुरु भई उम्मेदवारी मनोनयन दर्ता भइसकेको अवस्थामा महासंघले यो बैठकलाई अत्यन्त महत्वपूर्ण मानेको जनाएको छ। बैठकमा देशको समग्र विकासमा सरकार, निजी क्षेत्र र नागरिक समाजको साझा भूमिका अपरिहार्य रहेको निष्कर्ष निकालिएको छ।

नागरिक समाजले गाउँ–टोलदेखि केन्द्रसम्म पहरेदारी, खबरदारी र साझेदारीको भूमिकामार्फत सामाजिक रूपान्तरण, लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलन, द्वन्द्वकाल तथा विपद्को समयमा मानवीय सहायता, महिला सशक्तिकरण, क्षमता विकास र पछाडि परेका समुदायको पक्षमा निरन्तर योगदान गर्दै आएको महासंघले जनाएको छ।

महासंघले नागरिक समाज सधैं लोकतन्त्र, मानवअधिकार, सामाजिक न्याय, आवधिक निर्वाचन र सुशासनको पक्षमा उभिँदै आएको र राज्यका निकायलाई आवश्यक परामर्श तथा सहयोग प्रदान गर्दै आएको स्पष्ट पारेको छ।

प्रतिक्रिया