महिला समूहले उठायो बालविवाह र मानसिक स्वास्थ्यको मुद्दा

महिला समूहले उठायो बालविवाह र मानसिक स्वास्थ्यको मुद्दा

कालिकोट -  कालिकोटको खाडाचक्र नगरपालिका वडा नं. २ पच्चदेवमा महिला समूहको बैठक सम्पन्न भएको छ। एईआइएन लक्जेम्बर्गको साझेदारी खाडाचक्र नगरपालिकाको समन्वय सोसेक नेपालद्वारा संचालित आधार परियोजनाको सहजीकरणमा उक्त बैठक सम्पन्न भएको हो ।

महिला समूहकी अध्यक्ष जसु कुमारी उपाध्यायको अध्यक्षतामा सम्पन्न बैठकमा मर्यादित महिनावारी व्यवस्थापन, बालविवाह न्यूनीकरण तथा मनोसामाजिक परामर्शका विषयमा विस्तृत छलफल गरिएको हो।

बैठकमा सहभागी महिलाहरूले महिनावारीलाई लिएर समाजमा विद्यमान गलत धारणा, विभेद र व्यवहारिक समस्याबारे अनुभव साटासाट गर्दै सुरक्षित, स्वच्छ र मर्यादित महिनावारी व्यवस्थापनका उपायहरू अपनाउनुपर्नेमा जोड दिए । साथै, बालविवाहले बालिकाको शिक्षा, स्वास्थ्य र भविष्यमा पार्ने दीर्घकालीन असरबारे छलफल गर्दै समुदायस्तरमै सचेतना बढाउन आवश्यक रहेको निष्कर्ष निकालेको आधार परियोजनाले जनाएको छ ।

त्यसैगरी, मानसिक स्वास्थ्यका विषयमा पनि गम्भीर छलफल हुँदै महिला तथा किशोरीहरूका लागि मनोसामाजिक परामर्श सेवाको पहुँच विस्तार गर्नुपर्ने आवश्यकता औँल्याइयो। बैठकले आगामी दिनमा समुदाय केन्द्रित कार्यक्रम, अभिमुखीकरण तथा सहकार्यका माध्यमबाट यी विषयमा निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ ।

बैठकले महिला सशक्तीकरण, सामाजिक रूपान्तरण र सुरक्षित समुदाय निर्माणका लागि महिला समूहको भूमिका अझ सुदृढ बनाउने निर्णयसमेत गरेको छ।

प्रतिक्रिया