वन सम्पदा जोगाउन सोसेकद्वारा सरोकारवालाको ध्यानाकर्षण

वन सम्पदा जोगाउन सोसेकद्वारा  सरोकारवालाको ध्यानाकर्षण

सुर्खेत -  सोसेक नेपालले दैलेख जिल्लाको वन सम्पदा संरक्षणका लागि सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ। संस्थाले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै पछिल्ला केही वर्षयता जिल्लाका निजी, सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा विभिन्न किसिमका प्रकोप देखिन थालेको जनाएको छ।

विज्ञप्तिमा सार्वजनिक स्थल अतिक्रमण गरी बस्ती विस्तार गर्ने प्रवृत्ति, वातावरणीय प्रभाव मूल्याङ्कन नगरी सडक पूर्वाधार विस्तार, तथा वन पैदावरको अव्यवस्थित निकासी–पैठारीका कारण वन्यजन्तुको प्राकृतिक बासस्थान जोखिममा परेको उल्लेख गरिएको छ। यसका कारण मानिस र वन्यजन्तुबीचको द्वन्द्व बढ्दै गएको संस्थाले जनाएको छ।

यसैबीच, वन क्षेत्रमा झुसील किरा (मोथ) को संक्रमण फैलिँदा साल, काफल, साज लगायत विभिन्न प्रजातिका रुख–बिरुवाका करिब शतप्रतिशत पात नष्ट भएको बताइएको छ। यसले खेतीकिसानी, पशुपालन, पानीका मुहान, चराचुरुङ्गीको बासस्थान, टपरी उद्योगका साथै मानव स्वास्थ्यमा समेत प्रतिकूल असर पारेको विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै, दैलेखको भगवतीमाई, गुराँस, नौमुले, दुल्लू र चामुण्डा आसपासका निजी, सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रबाट चुत्रो (त्रिकुला) को जरा उखेल्दै निकासी–पैठारी गर्न अनुमति दिइएको विषयले व्यापक चिन्ता उत्पन्न गरेको छ। विभिन्न औषधीय प्रयोजनमा प्रयोग हुँदै आएको चुत्रो प्रजातिको अनियन्त्रित उत्खनन्, बिक्री, निकासी तथा पैठारीले यसको वंश नै संकटमा परेको भन्दै आमसञ्चार माध्यम र सामाजिक सञ्जालमा गम्भीर प्रश्न उठिरहेका छन्।

सोसेक नेपालले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण, झुसील किराको संक्रमण नियन्त्रण, तथा चुत्रो प्रजातिको वंश नाश हुने गरी भइरहेको उत्खनन् र पैठारी तत्काल रोक्न सम्बन्धित निकायको ध्यान जानुपर्ने जनाएको छ। यदि प्रचलित कानूनअनुसार नै यस्ता गतिविधि भइरहेको हो भने वातावरणीय सन्तुलन कायम गर्न कानून संशोधन गर्नुपर्ने माग समेत गरिएको छ।

संस्थाले सरकारका सम्बन्धित निकायसमक्ष ध्यानाकर्षण गराउँदै वन सम्पदा संरक्षणका लागि सबै पक्षलाई जिम्मेवार र सचेत बन्न हार्दिक अनुरोध गरेको छ।

प्रतिक्रिया