दैलेखमा १ देखि ५ वर्षका बालबालिकालाई निशुल्क स्वर्णविन्दू सेवा

दैलेखमा १ देखि ५ वर्षका बालबालिकालाई निशुल्क स्वर्णविन्दू सेवा

दैलेख : आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखले जिल्लामा पहिलो पटक १ देखि ५ वर्ष उमेर समूहका बालबालिकालाई निशुल्क स्वर्णविन्दू सेवा सुरु गरेको छ । माघ १८ गतेदेखि दैलेखको काँडाचौरस्थित कार्यालय हातामै यो सेवा प्रदान गर्न थालिएको हो ।

बालबालिकाको शारीरिक तन्दुरुस्ती, मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने उद्देश्यले स्वर्णविन्दू खुवाएको आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखकी चिकित्सक डा शैलजा कटुवालले जानकारी दिइन् । उनका अनुसार स्वर्णविन्दूले बालबालिकाको समग्र स्वास्थ्य सुधारमा सहयोग पुर्‍याउने विश्वास गरिएको छ ।

कार्यक्रममा कर्णाली प्रदेश आयुर्वेद अनुसन्धान केन्द्रका आयुर्वेद विज्ञ डा.खेमराज तिमिल्सेना र आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखका इञ्चार्ज डा.यादवप्रसाद उपाध्यायले स्वर्णविन्दूको फाइदाबारे जानकारी गराएका थिए ।

 यो कार्यक्रम हाल देशका २५ वटा जिल्लामा सञ्चालनमा रहेको छ । कर्णाली प्रदेशका दैलेख, सुर्खेत र जुम्लामा समेत सेवा उपलब्ध गराइएको छ । माघ १८ गते १ देखि ५ वर्षमुनिका ८०९ जना बालबालिकाले स्वर्णविन्दू सेवा लिइएका छन् । आगामी दिनमा दैलेख जिल्लाभर यो सेवा विस्तार गर्ने लक्ष्य रहेको आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखले जनाएको छ ।

प्रतिक्रिया