पीडित महिला र जोखिममा परेका बालबालिकाका लागि सचेतना कार्यक्रम सम्पन्न

पीडित महिला र जोखिममा परेका बालबालिकाका लागि सचेतना कार्यक्रम सम्पन्न

कालिकोट -  कालिकोटको खाडाचक्र नगरपालिकामा पीडित महिला तथा जोखिममा परेका बालबालिकाका लागि संरक्षण, व्यवस्थापन सहयोग तथा सचेतना अभिवृद्धि सम्बन्धी एकदिने कार्यक्रम सम्पन्न भएको छ।

 सामाजिक विकास कार्यालयको आयोजनामा भएको कार्यक्रममा सोसेक नेपालको सहकार्यमा २२ जना सहभागी छनोट गरी सहभागिता गराइएको थियो। सहभागीहरूमा सेफहाउसबाट सेवा लिएका हिंसा प्रभावित महिला तथा जोखिममा रहेका बालबालिका, सशक्त महिला समृद्ध नेपाल कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको रूपान्तरण सेसनमा सहभागी बालबालिका, साथै आधार परियोजना अन्तर्गत गठन गरिएको बाल क्लबमा आबद्ध जोखिममा रहेका बालबालिकाहरू समावेश थिए।

कार्यक्रमको उद्देश्य पीडित महिला तथा जोखिममा रहेका बालबालिकालाई आफ्ना अधिकार, संरक्षण संयन्त्र, उपलब्ध सेवा तथा अवसरबारे जानकारी गराउँदै उनीहरूलाई सशक्त बनाउने रहेको बताइएको छ । कार्यक्रममा सहभागिहरूलाई मनोसामाजिक सहयोग, बाल अधिकार, लैंगिक हिंसा न्यूनीकरण तथा सुरक्षित भविष्य निर्माणका विषयमा जानकारी दिइएको थियो।

कार्यक्रमका अवसरमा सहभागी बालबालिकालाई ड्रेस सहयोगसमेत प्रदान गरिएको छ। यसले उनीहरूको आत्मविश्वास अभिवृद्धि हुनुका साथै सामाजिक समावेशीकरणमा टेवा पुग्ने विश्वास आयोजक संस्थाले व्यक्त गरेको छ।

सोसेक नेपालले आगामी दिनमा पनि स्थानीय तहसँग सहकार्य गर्दै महिला तथा बालबालिकाको संरक्षण, सशक्तीकरण र समृद्धिका लागि यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया