भैरवीका वडामा कृषि प्रवर्द्धन र सामाजिक सचेतना कार्यक्रम सम्पन्न
दैलेख - दैलेखको भैरवी गाउँपालिकाका विभिन्न वडाहरूमा कृषि प्रवर्द्धन, महिला सशक्तीकरण तथा सामाजिक सचेतना अभिवृद्धि सम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिएका छन् ।
भैरवी गाउँपालिका वडा नं ३ मा गठित फुलबारी युवा क्लबका सदस्यहरूलाई बेमौसमी तरकारी खेती प्रवर्द्धन गर्ने उद्देश्यले तरकारीको बीउ वितरण गरिएको छ। उक्त कार्यक्रम एईआइएन लक्जेम्बर्गको साझेदारी, भैरवी गाउँपालिकाको समन्वय तथा सोसेक नेपालद्वारा सञ्चालित आधार परियोजनाको सहजीकरणमा सम्पन्न भएको हो।
यसैगरी वडा नं ३ मै गठित कोल्डाँडा आमा समूहको बैठक सम्पन्न भई महिनावारी स्वच्छता सरसफाइ, महिला स्वास्थ्य तथा विविध सामाजिक विषयमा जानकारीमूलक छलफल गरिएको छ। बैठकका क्रममा आमा समूहका सदस्यहरूले गर्दै आएको तरकारी खेतीको अवस्थाबारे फलोअपसमेत गरिएको थियो।


भैरवी गाउँपालिका वडा नं ४ मा गठित पञ्चकोशी आमा समूहका सदस्यहरूसँग भेटघाट तथा नियमित बैठक सम्पन्न गरिएको छ। बैठकमा समुदायमा विद्यमान बालविवाह न्यूनीकरण, मर्यादित महिनावारी सरसफाइ तथा अन्य सामाजिक विषयमा छलफल गरिएको थियो। साथै नियमित बैठकलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको छ।

त्यस्तै वडा नं ५ मा गठित चन्द आमा समूहको बैठक समूह अध्यक्ष श्री खगिसरा ज्ञवालीको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकमा मर्यादित महिनावारी, बालविवाह, घरेलु हिंसा, सरसफाइ, पोषणयुक्त खानपान तथा आयआर्जनका विषयमा छलफल गरिएको थियो। साथै समूहको आयआर्जन कोषमा संकलित रकम असुली गरी ऋण लगानीसम्बन्धी निर्णयसमेत गरिएको छ।
स्थानीय तह, साझेदार संस्था तथा समुदायबीचको सहकार्यमा सञ्चालन गरिएका यस्ता कार्यक्रमहरूले महिला सशक्तीकरण, बाल अधिकार संरक्षण तथा समुदायको आर्थिक र सामाजिक विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।

प्रतिक्रिया