सडक नाटकमार्फत दैलेखमा नसर्ने रोगविरुद्ध जनचेतना
दैलेख : नसर्ने रोगका कारण समाजमा बढ्दै गएको स्वास्थ्य समस्याबारे जनचेतना फैलाउने उद्देश्यले दैलेखको नारायण नगरपालिका–१ स्थित देवकोटा चोकमा जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ। नारायण नगरपालिका दैलेखको आयोजनामा तथा सोसेक नेपालद्वारा सञ्चालित सामाजिक व्यवहार परिवर्तन (एसबीसी) परियोजनाको प्रायोजन र युनिसेफ नेपालको आर्थिक सहयोगमा सोमबार उक्त सडक नाटक देखाइएको हो ।
“हाम्रो गाउँ, हाम्रा बालबालिका” भन्ने मूल नारासहित प्रस्तुत गरिएको नाटकले विशेषगरी बालबालिकामा देखिने नसर्ने रोगका विषयमा समाजमा विद्यमान अन्धविश्वास, गलत स्वास्थ्य अभ्यास तथा त्यसबाट उत्पन्न हुने जोखिमलाई सशक्त रूपमा चित्रण गरेको थियो। नाटकमार्फत नसर्ने रोग लागेमा धामी–झाँक्रीको पछि लाग्नुको सट्टा समयमै स्वास्थ्य संस्थामा गई उपचार गराउनुपर्ने सन्देश प्रवाह गरिएको थियो ।
आरङ्ग नेपाल, सुर्खेतका कलाकारहरू प्रेमदेव गिरी, गणेश गौतम, यामनारायण आचार्य, निर्मल प्याकुरेल, बेदन थापा, भूमिका परियार, रुबी पन्त र अप्सन पन्त नाटकको मुख्य भूमिकामा रहेका थिए। कलाकारहरूको जीवन्त अभिनयले दर्शकलाई सहजै कथासँग जोड्न सहज भएको थियो ।
सडक नाटकमा छारेरोगबाट पीडित एक बालकलाई परिवारले धामीकहाँ लैजाँदा अवस्था झन् बिग्रँदै गएको र पछि शिक्षकको सुझाबमा अस्पताल लगेर उपचार गरिएपछि बालकको अवस्था सुधार भएको दृश्य प्रस्तुत गरिएको थियो। यसले अन्धविश्वास त्यागेर वैज्ञानिक उपचार पद्धति अपनाउनुपर्ने सन्देश प्रभावकारी रूपमा दिएको थियो ।
कार्यक्रममा नारायण नगरपालिका दैलेखका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले नसर्ने रोगको दर दिनप्रतिदिन बढ्दै गइरहेको उल्लेख गर्दै यसको नियन्त्रणका लागि जनचेतना अत्यावश्यक रहेको बताए । उनले स्वास्थ्य शाखाको पहलमा सडक नाटकजस्ता सृजनात्मक माध्यम प्रयोग गरी समुदायलाई सचेत गराइएको जानकारी दिए ।
नारायण नगरपालिका स्वास्थ्य शाखा प्रमुख शिवकुमार यादवले सोसेक नेपाल र नगरपालिकाको साझेदारीमा नसर्ने रोगसम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू विद्यालय तहसम्म सञ्चालन भइरहेको जानकारी दिए । उनले छारेरोग, मधुमेह, उच्च रक्तचापजस्ता नसर्ने रोगबारे बालबालिका, अभिभावक तथा समुदायलाई सचेत गराउँदै आएको उनले बताए ।
सडक नाटक अवलोकन गर्न करिब तीन सय जना दर्शकको उपस्थिति रहेको थियो। दर्शकहरूले नाटकले समाजमा गहिरोसँग जरा गाडेको अन्धविश्वास हटाउन र स्वास्थ्यप्रति जिम्मेवार बन्न प्रेरणा दिएको प्रतिक्रिया दिएका थिए ।
प्रतिक्रिया