सुर्खेतमा महिला उद्यमी समूहद्वारा उत्पादित चप्पल बजारमा बिक्री सुरु
सुर्खेत - चप्पल उत्पादन तालिमपछि सहभागी महिलाहरूले बजारमा चप्पल बिक्री गर्न थालेका छन्। एआईएन लक्जेम्बर्गको साझेदारी, वीरेन्द्रनगर नगरपालिकाको समन्वय तथा सोसेक नेपालद्वारा सञ्चालित बिहानी परियोजनाको सहजीकरणमा सुर्खेतमा आयोजना गरिएको तालिममा सहभागी भएर सीप सिकेपछि चप्पल उत्पादन गरेर विक्रि गर्न थालेका हुन् ।
विशेषगरी वीरेन्द्रनगर नगरपालिका–१ का महिलाहरूले तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतार्दै महिला सक्षम उद्यमी समूह गठन गरी समूहगत रूपमा विभिन्न प्रकारका चप्पल उत्पादन तथा बिक्री वितरण गर्दै आएका छन् ।
बजारीकरणका क्रममा स्थानीय बजारमा उत्पादित चप्पलको माग राम्रो रहेको महिला सक्षम उद्यमी समूहकी सदस्य चित्रा विश्वकर्माले जानकारी दिइन् । उनका अनुसार महिलाहरूले उत्साह र जाँगरका साथ गुणस्तरीय चप्पल उत्पादन गरिरहेका छन् भने यसले उनीहरूमा आत्मनिर्भर बन्ने आत्मविश्वास पनि बढाएको छ।
हालसम्म समूहले ३५० रुपैयाँ दरका ११ जोडी चप्पल बिक्री गरी ३ हजार ८ सय ५० रुपैयाँ तथा ५०० रुपैयाँ दरका ६ जोडी चप्पल बिक्री गरी ३ हजार रुपैयाँ आम्दानी गर्न सफल भएको छ।
तालिममार्फत सीप, रोजगारी र आयआर्जनको अवसर सिर्जना हुँदा महिलाहरूको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुगेको सहभागीहरूको भनाइ छ।


प्रतिक्रिया