परिवार संवादले बदलिएको कमलाको यात्रा

लैंगिक समानता र सामाजिक रूपान्तरणको प्रेरणादायी कथा

परिवार संवादले बदलिएको कमलाको यात्रा

कालिकाेट : कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका – ३, भौसिन टोलकी ३५ वर्षीया कमला अधिकारी आज आफ्नो परिवार र समुदायमा सकारात्मक परिवर्तनको प्रतीक बनेकी छन्। श्रीमान्, सासु–ससुरा र दुई सन्तानसहितको संयुक्त परिवारमा बस्दै आएकी कमलाको जीवन पहिले परम्परागत सामाजिक मूल्य–मान्यताले गहिरो रूपमा निर्देशित थियो ।

महिनावारीको समयमा महिलालाई भैँसीको दूध, दहीजस्ता पौष्टिक खाना खान निषेध गरिन्थ्यो भने छाउपडी गोठमा बस्न बाध्य बनाइन्थ्यो । दलित समुदायप्रति गरिने विभेदलाई पनि सामान्य सामाजिक व्यवहारकै रूपमा स्वीकार गरिएको थियो । यी अभ्यास गलत हुन् भन्ने अनुभूति हुँदाहुँदै पनि कमलासँग त्यसविरुद्ध आवाज उठाउने आत्मविश्वास र सुरक्षित वातावरण थिएन ।

तर यो अवस्था परिवर्तन भयो, जब कमलाले युरोपेली संघ र संयुक्त राष्ट्रसंघको सहयोग तथा शुभकालिका गाउँपालिकाको समन्वयमा सोसेक नेपालद्वारा सञ्चालित ‘सशक्त महिला समृद्ध नेपाल’ कार्यक्रम अन्तर्गतको परिवार संवाद कार्यक्रममा सहभागिता जनाउने अवसर पाइन्।

परिवार संवाद कार्यक्रमले परिवारभित्र लैंगिक मैत्री व्यवहार, सकारात्मक लैंगिक भूमिका र अहिंसात्मक व्यवहारसम्बन्धी ज्ञान मात्र दिएनन्, व्यवहारिक सीप पनि विकास गराए। सबैभन्दा ठूलो उपलब्धि भनेको परिवारका सदस्यबीच खुलेर संवाद सुरु हुनु थियो।
कमलाले परिवर्तनको सुरुवात आफैँबाट र आफ्नो घरबाट गरिन्। आज उनको परिवारमा महिनावारीको समयमा महिलालाई कुनै पनि किसिमका खाना खान रोक छैन, न त घरबाहिर अलग्गै बस्नुपर्ने बाध्यता नै। महिलाहरू सुरक्षित रूपमा आफ्नै कोठामा बस्छन्। साथै, दलित समुदायप्रति समान, सम्मानजनक र मानवोचित व्यवहारको अभ्यास सुरु गरिएको छ। यसले परिवारभित्र सकारात्मक, सुरक्षित र सहयोगी वातावरण निर्माण गरेको छ।

परिवर्तनले पारिवारिक भूमिकामा पनि उल्लेखनीय सुधार ल्याएको छ। पहिले महिलामाथि केन्द्रित घरायसी कामको जिम्मेवारी अब साझा बनेको छ। श्रीमान् र परिवारका अन्य सदस्यहरू दैनिक काममा सक्रिय रूपमा सहयोग गर्न थालेका छन् । समस्या वा असहमति उत्पन्न हुँदा शान्तिपूर्ण संवादमार्फत समाधान खोज्ने र पारिवारिक निर्णय सामूहिक रूपमा गर्ने अभ्यासको विकास भएको छ, जसले दीर्घकालीन शान्ति र समझदारी कायम गर्न मद्दत पुर्‍याएको छ।

कार्यक्रमको प्रभाव घरभित्र मात्र सीमित रहेन। कमला अहिले समुदायस्तरमा पनि सक्रिय भूमिकामा देखिन्छिन्। साना विवाद वा तनावका अवस्थामा उनी संवाद र सहकार्यको माध्यमबाट शान्तिपूर्ण समाधानतर्फ प्रेरित गर्छिन्।
हाल उनी आमा समूहको अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएकी छन्। दाउरा–घाँस, मेलापात, पानी पँधेरोजस्ता दैनिक भेटघाटका स्थानमै उनी लैंगिक समानता, सम्मानजनक सम्बन्ध र सकारात्मक भूमिकाका विषयमा छलफल चलाउँछिन्। आमा समूह तथा समुदायस्तरका विभिन्न कार्यक्रममा उनको सक्रिय सहभागिताले अन्य परिवारहरूमा पनि सोच र व्यवहार परिवर्तनको संकेत देखिन थालेको छ।

सोसेक नेपालले शुभकालिका गाउँपालिकामा मात्र ६० घरपरिवारका २४० जना सदस्यलाई परिवार संवाद कार्यक्रममा सहभागी गराएको छ। कार्यक्रमबाट प्राप्त जिविकोपार्जन सहयोगमार्फत ती परिवारहरूले बाख्रापालन, कुखुरापालन र खुद्रा व्यापारजस्ता साना व्यवसाय सञ्चालन गर्दै आएका छन्, जसले आर्थिक आत्मनिर्भरता बढाउन थप टेवा पुर्‍याएको छ ।

आज कमला आफूलाई पहिलेभन्दा धेरै आत्मविश्वासी, सक्षम र नेतृत्वदायी महिला भएको महसुस गर्छिन्। परिवार संवाद कार्यक्रमले महिलाको क्षमता र नेतृत्व विकास मात्र होइन, दिगो व्यवहार परिवर्तन र समुदायस्तरमा शान्ति प्रवर्द्धन सम्भव हुने स्पष्ट प्रमाण प्रस्तुत गरेको छ।
कमलाको परिवार जस्तै कर्णाली, मधेश र सुदूरपश्चिम प्रदेशका हजारौँ परिवारहरू ‘सशक्त महिला समृद्ध नेपाल’ कार्यक्रममा सहभागी भई लैंगिक रूपान्तरणतर्फ अग्रसर भइरहेका छन् । महिला, पुरुष, किशोरी र किशोरबीच सुरक्षित, सम्मानजनक र समान सम्बन्ध निर्माणतर्फको कमलाको यात्रा-यस कार्यक्रमले ल्याएको दिगो प्रभावको एक प्रेरणादायी कथा हो ।

प्रतिक्रिया