विध्यालय सुशासन कार्यक्रमपछि देखिदै सकारात्मक परिवर्तन

विध्यालय सुशासन कार्यक्रमपछि देखिदै सकारात्मक परिवर्तन

सुर्खेत -   विद्यालय सुशासन सम्बन्धी कार्यक्रमको फलोअप अनुगमन तथा छलफल गरिएको छ। एईआइएन लक्जेम्बर्गको साझेदारी वीरेन्द्रनगर नगरपालिकाको समन्वय सोसेक नेपालद्वारा संचालित बिहानी परियोजनाको सहजीकरणमा वीरेन्द्रनगर नगरपालिका १ स्थित श्री दीपमाला आधारभूत विद्यालयमा अनुगमन तथा छलफल गरिएको हो । 

विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूलाई लक्षित गरी सञ्चालन गरिएको उक्त कार्यक्रमपछि विद्यालयको व्यवस्थापन र शैक्षिक वातावरणमा सकारात्मक परिवर्तन देखिन थालेको बिहानी परियोजनाले जनाएको छ । फलोअपका क्रममा कार्यक्रमले विद्यालयमा कस्तो प्रभाव पारेको छ र आगामी आर्थिक वर्षमा कस्ता कार्यक्रम आवश्यक छन् भन्ने विषयमा विस्तृत छलफल गरिएको थियो ।

छलफलका क्रममा श्री दीपमाला आधारभूत विद्यालय व्यवस्थापन समितिकी सचिव तथा प्रधानाध्यापक मन्जु सुनारले सोसेक नेपालले विद्यालय सुशासन सम्बन्धी कार्यक्रम सञ्चालन गरेपछि विद्यालय सुधारतर्फ अघि बढेको बताइन् । उनले भनिन्, “अहिलेसम्म विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूलाई मात्र लक्षित गरेर सुशासन सम्बन्धी कार्यक्रम गरिएको छ। अब आउँदो आर्थिक वर्षमा विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षकहरूका लागि प्रेरणामूलक (मोटिभेसन) कार्यक्रम, बालविवाह न्यूनीकरणसम्बन्धी सचेतना, अभिभावकका लागि काउन्सिलिङ तथा विद्यालय व्यवस्थापन समितिबीच अन्तरक्रिया कार्यक्रमको आवश्यकता देखिएको छ।”

उनले पहिलेको तुलनामा विद्यालयको अवस्था सुधार हुँदै गएको उल्लेख गर्दै शिक्षकको अभावका कारण केही सुधारका काम अझै पूर्ण रूपमा गर्न नसकिएको बताइन् । साथै, किशोरी विद्यार्थीहरूलाई लक्षित गरी काउन्सिलिङ कक्षा सञ्चालन गर्न यसै हप्ताको शुक्रबार एकदिने कार्यक्रम आयोजना गरिदिन सोसेक नेपालसँग आग्रह गरेकी छन् ।

फलोअप छलफलले विद्यालय सुधारका आगामी प्राथमिकता स्पष्ट गरेको उनीहरूको भनाइ छ। आगामी दिनमा यस्ता कार्यक्रम विस्तार गर्दै लैजाने हो भने विद्यालयको शैक्षिक गुणस्तर र व्यवस्थापन थप प्रभावकारी हुने अपेक्षा गरिएको छ । 

प्रतिक्रिया