जंगली बँदेलको आक्रमणपछि दैलेखमा वन्यजन्तु त्रास, हेलिकप्टरमार्फत घाइतेको उद्धार

जंगली बँदेलको आक्रमणपछि दैलेखमा वन्यजन्तु त्रास, हेलिकप्टरमार्फत घाइतेको उद्धार

दैलेख -  आठबिस नगरपालिका–८ दहका ३० वर्षीय दिपेन्द्र बडुवाल जंगली बँदेलको आक्रमणमा गम्भीर घाइते भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

मंगलबार बिहान करिब १०ः३० बजेको समयमा घरबाट तिलेपाटा जाँदै गर्दा आठबिस–८ स्थित उकाली मोडमा बडुवालमाथि जंगली बँदेलले एक्कासी आक्रमण गरेको थियो । आक्रमणबाट उनको हात, खुट्टा र छातीमा चोट लागेको छ । प्रारम्भिक उपचारपछि उनलाई हेलिकप्टरमार्फत सुर्खेत लगेर थप उपचार थालिएको आठबिस नगरपालिकाकी उप–मेयर कल्पना थापा चन्दले जानकारी दिइन् ।  उनका अनुसार बडुवालको अवस्था मध्यम रहेको र चिकित्सकको निगरानीमा उपचार भइरहेको छ ।

घटनापछि नगरपालिकाले स्थानीयवासीलाई जंगल क्षेत्रमा हिँडडुल गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ। स्थानीयका अनुसार पछिल्लो समय उक्त क्षेत्रमा जंगली बँदेलको गतिविधि बढ्दै गएको छ। “पहिले पनि बदेल देखिन्थ्यो, तर मान्छेमाथि यसरी आक्रमण गरेको पहिलोपटक हो,” एक स्थानीयले बताए । जंगली जनावरको त्रासका कारण स्थानीयहरू एक्लै हिँडडुल गर्नसमेत डराउन थालेको उनीहरूको गुनासो छ।

डिभिजन वन कार्यालय दैलेखले घटनाबारे जानकारी प्राप्त भइसकेको जनाएको छ । डिभिजन वन कार्यालयका प्रमुख अमरप्रसाद साहका अनुसार दैलेखका विभिन्न क्षेत्रमा जंगली बँदेल र चितुवाको गतिविधि बढ्दै गएको छ। जंगल अतिक्रमण, सडक विस्तार र पहाडमा जथाभावी बाटो खनिँदा वन्यजन्तुको बासस्थान नष्ट हुँदै जाँदा उनीहरू गाउँबस्ती नजिक आउन बाध्य भएको उनले बताए ।

“जंगलमा आहार नपाएपछि वन्यजन्तु बस्ती पस्ने अवस्था बनेको छ,” साहले भने, “दुल्लु, नौमुले, आठबिस, चामुण्डा र भैरवी गाउँपालिका क्षेत्र जोखिममा छन् ।”

उनका अनुसार एक हप्ताअघि पनि बदेलको आक्रमणबाट घटना भएको  थियो । अवस्था गम्भीर बन्दै गएपछि नरभक्षी बदेल नियन्त्रण तथा आवश्यक परे मार्ने निर्णयसमेत गरिएको छ । डिभिजन वन कार्यालयसँग पर्याप्त स्रोत, साधन र जनशक्ति नभएको साहले स्वीकार गरे । “हामीसँग डार्ट गन छैन, तालिमप्राप्त कर्मचारीको अभाव छ। बर्दियाबाट प्राविधिक जनशक्ति आउन कम्तीमा १० घण्टा लाग्छ,” उनले भने। कार्यालयसँग रहेको सवारीसाधनसमेत ९–१० वर्ष पुरानो मात्रै रहेको उनको भनाइ छ।

प्रतिक्रिया